किन महत्त्वपूर्ण छ साउने सोमबार?
काठमाडौं, साउन १ । साउन शिवजीसँग जोडिएको महिना हो। साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ।
साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ। विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ।
पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन्।
साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ। महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।
त्यसैले साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ। व्रत नबस्ने महिलाहरू पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउछन्। देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको भीड लाग्छ।
त्यसैगरी साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जल शिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ। धर्म तथा संस्कृतिविद्हरुका अनुसार साउन महिना धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिक दुर्घटना नहोस् भनेर भगवान शिवको पूजा गरिन्छ।
पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो। त्यसो त शिवको पूजा बालाचतुर्दशी मङ्सिर, माघे संक्रान्ति माघमा, महाशिवरात्री फागुनमा, अक्षय तृतीया वैशाखमा मनाइन्छ तर अरू महिनामा एक दिन मात्र शिवको पूरा गरिन्छ भने महिनाभरि नै शिवको पूजा हुने महिना भने साउन मात्रै हो। शिवलाई जलधार सारै प्रिय छ। प्रकृतिले नै जलधारा लगाउने यो महिना वातावरणीय स्वच्छताका हिसाबले पनि उत्तम मानिन्छ।
हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ। यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ। पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ। ती हुन्– साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष। सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ। यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ। दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ। व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ। यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ।
त्यसैले आज बिहानैदेखि भक्तजनहरू पुजाआजका लागि देशभरका शिवालयमा लामवद्ध छन्। पशुपतिनाथ मन्दिरमा साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थीका लागि बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइँदैछ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
साउनको पहिलो सोमवार साउन १ गते परेको छ। साउनको सोमबार पशुपति क्षेत्रमा लाखौं भक्तजन आउने गरेका कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए। जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन्, सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उनले सुनाए। प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन्। महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षा लगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ।
साउने सोमबार ७ हजार ५०० भन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताए। यसैगरी वासुकीनाथको मन्दिरमा ३ हजार १०० भन्दा कमको विशेष पूजा गराइने छैन। १८१ देखि २५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ। त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ।
साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन्। साउनको सोमवार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ। साउन महिना र सोमवार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ।
साउनको महिनाभित्र पनि बढी सोमबारको महत्व हुन्छ। साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन्। विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन्। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा/पोते लगाएर शिवको पूजा गर्दछन्।
शिव को हुन्?
शिव वैदिक देवता हुन्। शिवको अर्थ कल्याण हो। विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ। वेदमा रुऽको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुऽका विभिन्न वर्णन गरिएको छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ।
पौराणिक ग्रन्थहरूमा ब्रहृमालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ। शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको छ। शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। वेदमा रुऽको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदमा सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने देवताको रूपमा शिवको उपासना गरिएको छ।
प्रतिक्रिया दिनुहोस्