पार्टी एकताको अन्तिम चरणमा, समानताकै आधारमा  एकिकरण : उपाध्यक्ष रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रबीचको एकतको अन्तिम चरणमा रहेको बताउँदै समानताकै आधारमा पार्टी एकिकरण हुने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रावलले पार्टी एकिकरणको अन्तिम चरणमा पुगेको र केहि आन्तरिक तयारीमा रहेको बताए । उनले समानताकै आधारमा हुने स्पष्ट समेत पारेका पारे । उनले भने,‘सम्मानजनक रुपमै एकता हुन्छ, यसमा कुनै दुईमत छैन्।? कति रहन्छन् ? भन्ने कुरामा संस्थागत रुपमा छलफल गर्न बाँकी छ, त्यो छलफल भएपछि जानकारी हुन्छ, तर प्रचण्डजीले समानताका आधारमा हुनुपर्छ भनेको कुरालाई मैले कसरी बुझेको छु भने दुईवटा पार्टी एक ठाउँमा आएपछि समानताको आधारमा हुने हो नि त, एउटा पार्टी ठूलो गज्जबको, अर्को केहीपनि होईन भनेर त्यसरी एकता हुँदैन कहिल्यैपनि, अब व्यक्ति–व्यक्ति कुरा अर्थात को व्यक्ति कहाँ जाने ? भन्ने कुरा त अन्तरिम विधान आएपछि छलफल गरेर भन्ने कुरा हो।’

रावलले दुई पार्टीबीच बैशाख ९ गते एकता घोषणा गर्ने भन्ने सामान्य समझदारी भएको भएपनि संस्थागत निर्णय नभएको जिकिर गरे । उनले भने,‘बैशाख ९ गते नै एकता घोषणा गर्ने भन्नेबारे औपचारिक निर्णय हुन बाँकी छ, त्यसलाई पार्टी एकता संयोजन समितिले पनि निर्णय गर्न बाँकी छ, त्यो निर्णय बमोजिम हामीले आ–आफ्नो पार्टीको उपल्लो निकाय केन्द्रिय कमिटिमा आएर छलफल गरेर अनुमोदन गर्ने प्रक्रियापनि बाँकी छ।’

उनले संविधान आएपछि नेपाले हाँसिल गरेको सफलताको बारेमा चर्चा गर्दै भने,‘नेपाली कांग्रेस विपक्षी दल भएतापनि नेपालका साझा विकास र परराष्ट्र सम्बन्ध र नेपाली जनताका कतिपय सन्दर्भ र विषयमा समझदारी राखेर अघि जानुपर्छ भन्ने मेरो मान्यता छ, किनभने देशको विकास, समृद्धि, स्वाधिनता, स्वतन्त्रता, अखण्डता र नेपाली जनताको हितको कुरा यो कुनै पार्टी विशेषको मात्रै हुँदैन्, यो साझा सरोकारको विषय हुन्छ, त्यसकारण सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवैले यी साझा सवालहरुमा कुरा गरेर एउटा समझदारी बनाउने कुरामा हच्किनु र चुक्नु हुँदैन्।’

रावलले राजनीतिमा बहुमत ल्याउने र सरकार बनाउने कुरा प्रक्रियागत कुरा भएकोले कांग्रेसले अब कुनै ठाउँमापनि सरकार बनाउन पाईएन भनेर एकदमै अर्के किसिमले सोच्ने र राष्ट्रलाईभन्दा अरु नै कुरालाई सोच्ने दिशामा जान नहुने धारणा राखे । आफूहरुले संविधानमै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको उल्लेख गर्दै उनले भने,‘हामी संविधानबाट निर्देशित छौं, मलाई के लाग्यो ? को प्रधानमन्त्री हुँदा कसलाई के लाग्यो ? भनेर त्यो संविधानको मर्म र भावना विपरित वा अन्यथा कसैलेपनि जान मिल्दैन्, हामीले संयुक्त राष्ट्रसंघको बडापत्र, स्वतन्त्र परराष्ट्र नीतिका अन्र्तराष्ट्रिय मुल्य र मान्यताहरु, पञ्चशीलको सिद्धान्त, असंलग्नताको मान्यता अनुसार हाम्रो अन्र्तराष्ट्रिय सम्बन्ध सञ्चालनको कुरा गरेका छौं, हामीले भारत, चीन वा जुनसुकै देशसँग सम्बन्ध कायम गर्दापनि यी कुराहरुको हेक्का राख्नुपर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे उल्लेख गर्दै नेता रावलले भने,‘उहाँले जुन भ्रमण गर्नुभयो, संयुक्त वक्तव्य जारी भएको छ, वक्तव्यमा रेलमार्ग र जलमार्गको कुरा गर्नुभएको छ, कृषिमा कुरा गर्नुभएको छ, यस सम्बन्धमा मैले विस्तृत अध्ययन र कुरा सुन्न बाँकी नै छ, गृहजिल्लाबाट म हिजोमात्रै काठमाडौं आएको छु।’ प्रधानमन्त्रीको भारत भ्रमणबारे आफू र प्रधानमन्त्रीबीच कुराकानी हुन नपाएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्