सरकारसँग छैन पैसा, कर्मलारीलाई तलब खुवाउनै सकस
काठमाडौं, बैशाख ११ । सरकारलाई कर्मचारीलाई तलब खुवाउन अप्ठ्यारो पर्न थालेको छ।
चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नहुनुका साथै वैदेशिक सहयोग लक्ष्यअनुसार परिचालन नभएकाले सरकारी कोषमा दबाब परेको अर्थमन्त्रालयले जनाएको छ।
२०७९ साउनदेखि चैत्रसम्मको अवस्थालाई हेर्दा आम्दानीभन्दा खर्च बढी भएकाले संघीय सरकारको सञ्चित कोष घाटामा रहेको मन्त्रालय स्रोतको भनाइ छ।
सरकारले समयमा भुक्तानी पठाउन नसक्दा झण्डै २२ हजार शिक्षकले पेन्सन पाउन सकेका छैनन्। सरकारसँग पैसा नभएपछि यसअघि नै अर्थमन्त्रालयले सेवा निवृत्त कर्मचारीको पेन्सन रोकेको थियो।
चैत अन्तिम सातादेखि सरकारले असार मसान्तसम्मका लागि भन्दै पेन्सन पाकेका कर्मचारीको उपदान, औषधि उपचार खर्च र सञ्चित बिदाको रकम समेत रोकेको अर्थका एक अधिकारीले बताए।
अहिलेकै झैं राजश्व संकलनको संकुचन बढ्दै गए सरकारलाई दैनिक प्रशासनिक खर्च चलाउनसमेत सकस पर्ने कर्मचारी बताउँछन्।
यसरी कर्मचारीलाई तलब खुवाउन नसकेपछि सरकारले आन्तरिक ऋण उठाउने भएको छ। सरकारले नेपाल राष्ट्र बैंकमार्फत कर्मचारीलाई तबल खुवाउनका लागि २० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो।
प्रतिक्रिया दिनुहोस्