उर्जामा लगानी गर्नुस्, इन्सेन्टिभ दिन तयार छौं : अर्थमन्त्री डा. महत

काठमाडौं, बैशाख ६ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

उर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन् । सम्मेलनको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए ।

सम्मेलनमा डा. महतले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत् उत्पादन हुन्थ्यो । जब निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपियो । जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।’

ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको डा. महतले बताए । निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत् निर्यात गर्न थालेको छ । यो हाम्रा लागि खुशीको खबर हो । यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको मन्त्री डा. महतको भनाइ थियो ।

मन्त्री डा. महतले भने, ‘नेपालमा उर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु । लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ । सरकारले लगानीको प्राथमिकतामा उर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ । लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौँ । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले उर्जामा राम्रो भएको छ । नेपालको गतिलो आम्दानीको स्रोत उर्जा नै हो ।’

उनले उनले सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने बताए । ‘विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार हो । बंगलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ । विश्व बैंक जस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन्’, उनले भने ।

विद्युत् उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनीहरू पाइपलाइनमा रहेको डा. महतले बताए । उनले थपे, ‘उनीहरू मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।’ यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । विद्युतीय खपतमा पनि हामी त्यत्तिकै हुन जरुरी रहेको मन्त्री डा. महतले बताए । घरायासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत् खपत बढाउन सकिने डा. महतको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्