महासंघको नवनिर्वाचित नेतृत्वसँग अर्थमन्त्रीको भेटघाट: भने – मिलेर अर्थतन्त्रको अप्ठ्यारा हटाऔँ

काठमाडौं, बैशाख ४ । उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाई तथा शुभकामना दिएका छन्।

नवनिर्वाचित पदाधिकारीसँग सोमबार भेटघाट गर्दै अर्थमन्त्रीले अहिले अर्थतन्त्रमा देखिएका अफ्ठ्याराहरु निजी क्षेत्र र सरकार मिलेर हटाउनुपर्ने बताए।

‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ। तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ’ अर्थमन्त्री महतले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं। यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो। सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ।’

सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन नसकेको उनले स्वीकार गरे।

‘यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ’ उनले भने, ‘म स्वीकार गर्न तयार छु। सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको उनले बताए। राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको उनले जानकारी दिए।

डा. महतले भने, ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ। अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ। उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो।’

मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री महतले बताए।

उनले भने, ‘ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो। अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ। यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्नेछ।’

 

प्रतिक्रिया दिनुहोस्