वैशाखदेखि निक्षेप ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

काठमाडौं, चैत २९ ।  बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।

बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ । संस्थागततर्फका निक्षेपकर्ताले भने ७.९९ ब्याजदर पाउने छन् ।

बैंकहरूले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिँदै आएका थिए । डेढ वर्षपछि बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई एकल अंकमा राखेका हुन् । संघले मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशत विन्दुले कम गर्ने निर्णय गरेको हो ।

व्यवसायीले उठाउँदै आएको ब्याजदरको मुद्दा बैंकहरूको दर घटाउने निर्णयले सम्बोधन हुने देखिएको छ ।

बैंकहरूले माघदेखि ब्याजदर घटाउने निर्णय गरेका थिए । जसको प्रभावस्वरूप वैशाखदेखि ऋणको बेसरेट घट्नेछ । वैशाखदेखि घटाएको निक्षेपको ब्याजदरले साउनदेखि कर्जाको ब्याजदर घट्न मद्दत गर्नेछ । बैंकहरूले बचत खातामा भने ५.४२ प्रतिशतदेखि ७.४२ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्