देशको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँ

काठमाडौं, चैत २८ ।  चालु आर्थिक वर्षको ८ महिनामा मुलुकमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँ रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको आठ महिनामा कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँ बराबर रहेको छ ।

अहिलेको विदेशी विनिमय सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आठ महिना अवधिमा सङ्घीय सरकारको खर्च रु सात खर्ब ७९ अर्ब २३ करोड र राजस्व परिचालन रु पाँच खर्ब ८२ अर्ब ७७ करोड बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय पाँच दशमलव तीन प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले बढेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन पाँच दशमलव पाँच प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १० दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव एक प्रतिशत बराबर हो । फागुन मसान्तसम्ममा आयात १९ दशमलव एक प्रतिशतले, निर्यात २९ दशमलव एक प्रतिशतले र कूल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले नेपाली वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्।

राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेकाले वित्तीय क्षेत्र सुरक्षित रहेको गभर्नर अधिकारीको भनाइ छ।

‘सानो धक्काले असर गर्दैन’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता बढी नै छ।’उनले पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत रहेको बताए।

साथै निष्क्रिय कर्जा समेत २.६३ प्रतिशत रहेको उल्लेख गर्दै उनले विद्युतीय कारोबार उल्लेख बढेको बताए।

प्रतिक्रिया दिनुहोस्