ब्याजदर घटाउन राष्ट्र बैंकले नीति बदल्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं , चैत २८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । आयात रोकेका कारण राजश्वमा दबाब देखिएको भन्दै उनले बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताए ।

‘बजारमा समस्या देखिन्छ, सटर लागेका छन् । सबै क्षेत्र मन्दीको अवस्थामा छ । तर अब राष्ट्र बैंकको पोलेसी सिफ्ट गर्नुपर्छ,’ उनले थपे, ‘निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर नै परिवर्तनका लागि हामी आन्तरिक छलफलमा छौं ।’

‘घरजग्गाको कित्ताकाट सहज बनाउन छलफल भइरहेको छ । यससबाट बजार सहज हुन्छ । अब काम गर्न सकिने अवस्था बन्छ । ऋण पुनर्तालीका र सहजीकरण गर्न सकिन्छ तर ब्याज र साँवा नै तिर्दिन भन्न पाइन्नँ’ अर्थमन्त्री महतले भने ।

त्यस्तै महतले बंगलादेशको जस्तो निर्यात योजना बनाएर अर्थतन्त्र सुधार गर्ने बताएका छन्।अर्थतन्त्रमा अहिले अप्ठ्याराहरू आए पनि बाह्य क्षेत्र केही राम्रो भएको उनले बताए।उनले रेमिट्यान्सका कारण बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिकतर्फ अवस्था नाजुक भएको बताए।

उनले यसलाई सुधार गर्न तत्काल दीर्घकालीन दुईथरि योजना ल्याउने बताए।उनले अहिले पूँजीगत खर्च गर्न नसक्नुको कारण राजश्व कमजोर रहेको बताए। ब्याजदरको कारण पनि अहिले धैरै असर परेकाले समाधान गर्न कर्जा र निक्षेपको फरक हेर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्