बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने : ऋण लिएर तिर्दिनँ भन्नेहरूलाई छाड्नुहुँदैन
काठमाडौं, चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताएका छन् ।
सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाब लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।
‘मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ,’बैठकमा प्रधानमन्त्रीले भने, ‘बैंकको ब्याजदर घटाउने उपाय खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’
विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस भएकाे र अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको उनले बताए । बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल गर्ने उनले बताए ।
‘हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन,प्रधानमन्त्रीले भने, ‘सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौँ ।’
अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्धलगायतका कारण छन्। आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ ।’
अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने भन्दै उनले घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न नसकिने भएकाले यसबारे चाँडै निर्णय पुग्ने बताए ।
‘बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छाड्नुहुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ ।’
छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए ।
बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायत पदाधिकारी उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्