अर्थशास्त्रमा पीएचडी गरेका महतको काँधमा अर्थतन्त्र , को हुन् उनी?

काठमाडौं, चैत १७ । अर्थतन्त्र चलायमान नबन्दा सरकारको आम्दानीले खर्च धान्न धौधौ परेको छ।

यस्तो अवस्थामा अर्थतन्त्र सम्हाल्न अर्थतन्त्रबारे जानकार रहेका डा. प्रकाशशरण महत आएका छन्।उनले शुक्रबार अर्थमन्त्रीको शपथग्रहण गरेका हुन्।

डा. महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गरेका छन्।

उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स)मा स्नातकोत्तर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धानपत्रहरु प्रस्तुत गरेका डा. महतका आर्थिक विकास, शान्ति प्रक्रिया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा पार्टी र मुलुकलाई आवश्यक परेको लचिलो, सहनशील, कर्मठ, शिक्षित, दक्ष, जोस र जाँगरले भरपूर महत एक अनुभवी नेता हुन्।

उनको सचिवालयका अनुसार कक्षा ७ मा अध्ययनरत रहँदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर उनी राजनीतिमा लागेका थिए। डा. महतको जीवन संघर्ष र चुनौतीले भरिपूर्ण देखिन्छ।

२०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहमा अग्रमोर्चामा रहेर काम गरेका डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए।

त्यसबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए। नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए।

सचिवालय भन्छ, ‘पार्टीले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्ने सरल, सिधा, इमानदार र अनुशासित कार्यकर्ता भएकोले पार्टीले उहाँलाई थप जिम्मेवारीहरु प्रदान गर्दै गयो।’

सन् १९९८ देखि १९९९सम्म नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत सन् २००२ देखि निरन्तर केन्द्रीय सदस्य रहिआएका छन्।

उनले केन्द्रीय सदस्यको रुपमा पार्टीले सुम्पिएको प्रचार विभाग प्रमुखको भूमिका, निर्वाचन परिचालन समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका छन्।

संसदभित्रको जिम्मेवारी

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका डा. महतले पहिलो संविधानसभा २०६४ देखि ६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा देश र नेपाली नागरिकको सेवा पनि गर्नुभएको थियो।

दोस्रो संविधान सभाले नै २००७ सालको जनक्रान्तिको आह्वान गर्दा नेपाली कांग्रेसका संस्थापक महामानव बीपी कोइरालाले अगाडि सार्नुभएको नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावनालाई मूर्त रुप दिने सफलता पायो।

जननिर्वाचित जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा उनको महत्वपूर्ण योगदान रहेको उनको सचिवलायको दाबी छ।

महतको राजकीय जिम्मेवारी

पार्टीले राज्य सञ्चालनका विभिन्न क्षेत्रमा विभिन्न अवसर पनि उनलाई दिएको छ।

नेपालमा माओवादी विद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले सन १९९९ मा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए। डा. महतलाई प्रधानमन्त्रीले सेप्टेम्बर २००१ देखि मे २००२ सम्म सल्लाहकार नियुक्त गरेका थिए।
उनलाई सरकारले २०५८ चैतदेखि २०५९ असोजसम्म (सन २००२ को अप्रिलदेखि अक्टोबरसम्म) राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो। उनलाई सन २००४ देखि २००५ सम्म परराष्ट्र मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त भयो।

२०६३ देखि २०६४ सम्म (२००६ देखि जुन २००७ सम्म) माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६४ फागुनसम्म(अगष्ट २००७ देखि जुन २००८ सम्म) विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पनि सुम्पिएको थियो।

२०६६ देखि २०६७ सम्म(सन २०१० देखि २०११ सम्म) उनी ऊर्जा मन्त्री रहे। ऊर्जा क्षेत्रको जिम्मेवारी पाएको बेलामा नै अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय भएको थियो।

भूकम्प, नाकाबन्दी, बाढी पहिरो र अन्य अवरोधका कारण ढिलो भएपनि अहिले आयोजनाको निर्माण सम्पन्न भएको छ। यसले नेपाली नीति निर्माता, प्राविधिक, लगानीकर्ता संस्था र सर्वसाधारण लगानीकर्ताको पनि आत्मविश्वास बढाएको छ। यसले मुलुकको आर्थिक विकासमा ठूलो सघाउ पुर्याउने निश्चित छ।

सोही अवधिमा नै नेपाल र भारतको बीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्ने निर्णय भएको थियो। ढल्केबर–मुजफ्फरपुर ४०० के.भी. प्रसारणलाइनको निर्माणले नेपालको लोडसेडिङ्ख अन्त्य गरी सबै नेपालीलाई उज्यालोतिर लम्किन प्रेरित गरको यथार्थ यहा स्मरणीय हुन आउँछ।

नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म (अगष्ट २०१६ देखि जुन २०१७सम्म) डा. महतले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए।

प्रतिक्रिया दिनुहोस्