सरकारको कामप्रति प्रचण्ड नै असन्तुष्ट, माओवादीद्वारा एमालेको सूर्य चिन्ह बहिष्कार
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले केपी ओली नेतृत्वको वर्तमान सरकारको काम कारबाहीप्रति असन्तुष्ट देखिएका छन् ।
पार्टी एकताको अन्तिम चरणमा रहेका एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति दाहालले असन्तुष्टि जनाएका हुन् ।
‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भएको देखिन्न,’ प्रेस सेन्टरका नेताहरूलाई शनिबार अध्यक्ष दाहालले भने, ‘सरकार सञ्चालनको विधि तौरतरिका अपनाएर अघिबढ्नुपर्ने देखिन्छ ।’
दाहालले प्रधानमन्त्री वा मन्त्रीहरूको कार्यशैली ठीक नभएको बारे भने विस्तृतमा खुलाएनन् । उनले सरकारको काम प्रभावकारी ढंगले अघि बढाउन विधि बनाएरै अघि बढ्नुपर्नेमा भने जोड दिए ।
माओवादी केन्द्रले एकीकृत पार्टीको चुनाव चिह्न सूर्यमा सहमति नजनाउने स्पष्ट पारेको छ । अध्यक्ष दाहालले एकीकृत पार्टीको सूर्य चिह्नमा सहमति हुन नसक्ने बताएका छन् । दाहालले सूर्यभित्र हँसिया हथौडा भने मान्य हुने बताएका छन् ।
दाहालले जनयुद्धको विषयमा भने कुरा मिलेको बताएका थिए । जनयुद्ध र जनक्रान्तिलाई सँगै उल्लेख गरेर जान एमाले सहमत भएको उनले जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्