अर्थविद् पोखरेलको चेतावनी- तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउँदैछ

काठमाडौं,चैत ६ ।  अर्थविद् डा. गोविन्दराज पोखरेलले देशको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । आज (सोमबार) सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले देशको पछिल्लो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले विकास खर्चलाई र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा देशको अर्थतन्त्र बिग्रँदै गएको उनको भनाई छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् डा. पोखरेलले देशको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताएका छन् । नेताहरूमा गम्भीरता नै नरहेको र सरकार तथा मन्त्रीहरूमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको उनले दाबी गरे ।

उनले भने, ‘हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्यौं । हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौं । हामी यस्तो ट्रेनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ । चालु खर्च तलब, भत्ता, पेन्सनहरू दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हिजो बेलुकीसम्मको देशको आर्थिक तथ्याङ्क हेर्दा यो आर्थिक वर्षमा झन्डै दुई अर्ब रुपैयाँ घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ?’ अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्