नेपाल लोकतान्त्रिक फोरम आज कांग्रेसमा जाने
काठमाडौं । आइतबार नै एकता घोषणाको तयारी गरिएको भए पनि नेताहरु समानुपातिकको बन्द सूचीका उम्मेदवार छान्न व्यस्त हुँदा पार्टीको एकता घोषणा आज हुने भएको हो । स्रोतको अनुसार प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान ११ बजे दुई पार्टीको एकता घोषणा हुनेछ।
उपप्रधानमन्त्री तथा संघीय मामिला मन्त्री विजयकुमार गच्छदार कांग्रेसमा जाँदा उपसभापतिको हैसियतमै जाने दाबी समेत गरे।
कांग्रेससंग फोरमले प्रत्यक्षतर्फ ६ सिट मागेको छ
आगामी मंसिर १० र २१ गते हुने केन्द्रीय संसदका लागि प्रत्यक्षतर्फ फोरमले कांग्रेससँग ६ सिट मागेको छ।
कैलाली– १ मा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी, २ मा रामजनम चौधरी र बर्दियामा गोपाल दहितलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु पर्ने फोरमको माग छ । यसैगरि पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा र अर्का नेता मुस्ताफ आलमलाई रौतहटमा उम्मेदवार बनाउनु पर्ने माग फोरमले गरेको छ।
फोरमले दाङ –१ बाट महामन्त्री योगेन्द्र चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाउनु पर्ने माग गरेको छ तर टुङ्गो भने लागिसकेको छैन ।
फोरमले मागेका ६ मध्ये जनकराज चौधरी, रामजनम चौधरी, विजय गच्छदार र मुस्ताफ आलमले गत संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जितेका थिए।
प्रतिक्रिया दिनुहोस्