ऋण तिर्दिनँ भनेर सुखै छैन : डेपुटी गभर्नर मिश्र, नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न पनि आग्रह

काठमाडौं, फागुन १९ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।

शुक्रवार काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन् ।

उनले व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण दबाब समूह बनाई कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न पनि आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थाहरूले लगाएको ऋण बैंक तथा वित्तीय संस्थाहरूको रकम नभएर नागरिकको पैसा भएको बताए ।

उनले भने , ‘पछिल्लो समय लघुवित्त, ब्याजका विषयमा धेरै विषयहरू बाहिर आइरहेका छन् । बैंकको ऋण र लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गर्ने कुराहरू आएका छन् । यो विषयमा नेपाल राष्ट्र बैंक जानकार छ । बैंक तथा वित्तीय संस्थाहरूबाट जसले ऋण प्राप्त गर्नुभएको छ । उहाँहरूले ऋण तिर्नुपर्दैन, अब ऋण तिर्दिनँ भन्न मिल्दैन । ऋण नतिर्नुहोस् भनेर कसैले क्याम्पेन गर्नुहुँदैन । यो गर्न नहुने काम हो । उद्योग, व्यापार व्यवसाय मन्दीमा जान सक्छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिनँ भनेर सुख नै छैन । त्यसको परिकल्पना नगर्न आग्रह छ ।’

डेपुटी गभर्नर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरूले ऋण दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरूले पैसा पाउन समस्या हुने बताए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरूलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन नदिन उनको आग्रह छ । उनले बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने बित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गर्ने प्रतिबद्धता पनि जनाए ।

डेपुटी गभर्न मिश्रले राष्ट्रिय,अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिर्वतन भएका कारण र पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका सेन्ट्रल बैंकहरूले ब्याज बढाएका कारण धेरै देशको आर्थिक अवस्थामा केही सकस पर्न गएको बताए । उनले राष्ट्र बैंकले व्यवसायीहरूको हितका लागि केही सर्कुलर जारी गरेको भन्दै राष्ट्र बैंकले नीतिगतरूपमा गर्नसक्ने विषयमा के–के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै मिश्रले नेपाल राष्ट्र बैंकले मार्च महिनालाई डिजिटल पेमेन्ट महिनाको रूपमा घोषणा गरेको जानकारी दिए। उनले सन् २०२३ को वर्षभरलाई डिजिटल पेमेन्ट वर्षको रूपमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्