सरकारले गर्यो आर्थिक वर्षको बजेट संशोधन, २ खर्ब ४४ अर्बले घट्यो आकार
काठमाडौं, माघ २९ । सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर (संशोधन) गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबारको संसद् बैठकमा प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान गरेका हुन् ।
यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले १४ प्रतिशतले बजेटको आकार घटाएको संसदलाई जानकारी दिएका हुन्।
यसअनुसार कुल बजेट आकार १५ खर्ब ४९ अर्ब रुपैयाँमा घटाइएको हो।
‘चालू खर्चतर्फ ११ अर्ब ८३ अर्ब २३ करोड सुरु विनियोजन भएकोमा १० खर्ब २१ अर्ब ९२ करोड संशोधित अनुमान छ’, मन्त्री पौडेलले भने। जुन सुरु विनियोजनको ८६.३७ प्रतिशत मात्र हो।
त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड सुरु विनियोजन गरिएकोमा सरकारले ३ खर्ब १३ अर्ब ८५ करोड मात्र हुने संशोधित अनुमान गरेको छ। यो भनेको सुरु विनियोजनको ८२.५१ प्रतिशत हो।
त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड विनियोजन गरिएकामा २ खर्ब १४ अर्ब २१ करोड हुने संशोधित अनुमान गरेको पौडेलले उल्लेख गरे। जुन सुरु विनियोजनको ९३.०५ प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस्