अर्धवार्षिक आर्थिक समीक्षा सार्वजनिक हुँदै, बजेटको आकार घट्ने
काठमाडौं, माघ २९ । सरकारले आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा आइतबार सार्वजनिक गर्ने भएको छ।
उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा दिउँसो ३ बजे २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्ने भएका हुन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले अर्थवार्षिक समीक्षामार्फत् बजेटको आकार घटाउने र अनावश्यक क्षेत्रमा पठाइएको बजेट कटौती गर्ने तयारी गरेको छ।
संघदेखि स्थानीय तहसम्म पठाएको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले समग्रमा बजेटकै आकार १७ प्रतिशतले घटाउने तयारी गरेको छ। गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएका थिए।
निर्धारित लक्ष्यअनुसार राजश्व नउठेको र वैदेशिक सहायतामा कमी आएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार घटाउन लागेको हो। आकार घटाएपछि बजेटका आकार १४ खर्ब हाराहारी मात्रै हुने अर्थ मन्त्रालय स्रोतको दाबी छ।
आर्थिक वर्षको आधा अवधि व्यक्ति हुँदा पुँजीगत खर्चको स्थिति राम्रो नभएको अर्थको निष्कर्ष छ। अहिलेसम्म करिब ३५ प्रतिशत हाराहारी मात्रै पुँजीगत खर्च भएको छ।
चालु आर्थक वर्षको बजेटमा बजेट चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड विनियोजन गरिएको थियो भने पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड विनियोजन गरिएको छ। समग्रमा बजेटकै आकार घटेपछि पुँजीगत खर्चका लागि विनियोजित रकम पनि घट्नेछ।
प्रतिक्रिया दिनुहोस्