पहिलो संघीय बजेट निमार्णमा अर्थमन्त्रालय जुट्यो, साढे बाह्र खर्बको बजेट ल्याउने तयारी
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४/७५ बजेट निर्माणका लागि सुझाव माग गरेको छ । अर्थमन्त्रालय एक सूचना जारी गर्दै बैशाख १५ गतेभित्र सुझाव पठाउन सरकारी निकाय, सघ सस्था, बुद्धिजीवि एबं सरोकार राख्ने सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले बजेट निर्माणका लागि बिद्यमान नीति, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्त शुल्क, गैर कर तथा राजस्व नियन्त्रणका साथै समग्र राजस्व प्रशासन सम्वन्धि सुधारका विषयमा सुझाव दिन अनुरोध गरेको छ ।
सुझाव संकलन गर्ने नियमित कार्य भएपनि संघीय बजेट निर्माण पहिलो पटक हुन लागेकोले यो पटक प्राप्त हुने सल्लाह र सुझाव महत्वपूर्ण हुने बिश्वास मन्त्रालयको छ ।
हालै जारी गरिएको श्वेतपत्रमा करको दायरा विस्तार,विलिङ्ग सूचना प्रणली र कर प्रशासनको क्षमता विस्तार लगायतको कुरा उल्लेख छ । कर प्रशासनमा कडाई गर्दै राजस्वको आकार र दायरा बढाउन सक्रिय बनिरहेको सरकारसँग निजी क्षेत्र सशंकित छ । भन्सार राजस्वलाई कडाइ गर्न अर्थमन्त्री डा युवराज खतिवडाले निर्देशन दिए लगत्तै बाणिज्य संघ सगठनका प्रतिनिधिहरूले अर्थमन्त्रीलाई भेटेर पुनरविचार गर्न आग्रह गरेका थिए ।
संबिधान अनुसार संघीय बजेट जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० मा बजेट ल्याउनु पर्ने हुन्छ ।
साढे बाह्र खर्बको बजेट ल्याउने तयारी
अर्थमन्त्रालयले आगामी आर्थिक बर्षका लागि करीब साढे बाह्र खर्वको बजेट ल्याउने तयारी गरेको छ । संघीयता कार्यान्वयनको पहिलो बर्ष बजेटको आकार १६ खर्वको हाराहारीमा पुग्ने अनुमान भइरहेपनि आगामी बर्षको बजेट चालू आर्थिक बषकै हाराहारी हुने अर्थ मन्त्रालय निकट श्रोत भन्छ ।
केन्द्र सरकारबाट प्रदान गर्ने बिभिन्न अनुदान र स्थानीय श्रोत साधानको उपयोगबाट प्रदेश र स्थानीय सरकारले अलग अलग बजेट प्रस्तुत गर्ने भएकोले बजेटको सीमा नबढने देखिएको हो । बजेटको सीमा निर्धारण सकिएको र अहिले बिभिन्न मन्त्रालयहरूलाई कार्यक्रम पेश गर्न पत्राचार भैरहेको मन्त्रालयले जनाएको छ ।
सरकारले हालै जारी गरेको श्वेतपत्रमा बजेटको बिश्वसनीयतामाथि प्रश्न उठन थालेको उल्लेख छ । चालू आर्थिक बर्षको बजेटमा १ खर्व २ अर्व ७३ करोड ६२ लाख कोषको सन्चित रहने अनुमान गरी श्रोत आँकलन गरिएकोमा आर्थिक बर्षको अन्त्यसम्ममा ४८ अर्व ६१ करोड सन्चित घाटा देखाइएको छ ।
बैदेशिक सहायता प्राप्त हुन्छ भन्ने अडकलमा गरिएका कतिपय आयोजनाबारे छलफल नभएको र बजेटमा प्रस्ताव गरिएको खर्च गर्ने श्रोतमा २ खर्व अपुग देखिन्छ । चालू बजेटमा कुनै ठूला परियोजनामा रकम विनियोजन गर्ने भन्दा पनि साना साना र प्राथमिकताबिहीन योजनामा खर्च हुने गरेको उल्लेख छ ।
श्वेतपत्र मार्फत चालू आर्थिक बर्षको बजेटको बिश्वसनीयतामाथि शंका गरेको बर्तमान सरकारले आगामी बर्षको बजेट निर्माण गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । विगतमा जस्तै सुझाव संकलन गर्ने कर्मकाण्डलाई निरन्तरता दिनु्भन्दा पनि प्राप्त भएका सल्लाह र सुझावलाई समेटेर बजेटको लक्ष्य प्राप्ति गर्ने दिशामा केन्द्रित हुनुपने आवश्यकता छ ।
प्रतिक्रिया दिनुहोस्