एमाले–माओवादी केन्द्रको एकता प्रयास : एकता संयोजन समितिको बैठक आज

काठमाडौं  । नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकताको विषयमा छलफल गर्न मंगलबार दुवै पार्टीका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्दैछ ।

सोमबार आन्तरिक छलफल गरेका दुवै पार्टीले मंगलबार एकता संयोजन समितिमा छलफल गर्न लागेको हो । दिउँसो बस्ने बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूचि छ ।

कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबिच सहमति भइसकेको छ । एकता प्रक्रियालाई गति दिने सम्बन्धमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिच छलफल भएको थियो ।

दुवै पार्टीले आन्तरिक छलफल गरेपछि मंगलबार एकता संयोजन समितिको बैठक बस्न लागेको हो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषय मिलाउन पार्टीका शीर्ष नेतासँग छलफल गरिसक्नुभएको छ ।

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायण काजी श्रेष्ठ र रामबहादुर थापा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्