पहिलो अधिवेशन आज अन्त्य हुँदै : प्रधानमन्त्री ओलीले संसद्मा ‘विशेष’ सम्बोधन गर्ने
काठमाडौं। प्रतिनिधिसभाको संसद बैठक आज बस्दै छ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । आसन्न भारत भ्रमण र सार्वजनिक महत्वका विषयमा संसदलाई जानकारी गराउन प्रधानमन्त्रीले संबोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा आगामी चैत २३ देखि भारतको तीनदिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । यस्तै यसअघि नै संसद बैठकमा पेश भएको राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको विषयमा छलफल हुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिनुभयो ।
दुवै प्रस्तावमा छलफल सकिएसँगै संघीय संसद्को दुवै सदनमा विजनेस सकिएकाले कुनै काम नभएको भनी सरकारलाई जानकारी गराइसकेको छ । यस्तै, आजै राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्