राजपा महाधिवेशनको मिति तोक्ने तयारीमा , बुधबार अध्यक्ष मण्डलको बैठक बस्ने

काठमाडौँ संसदीय दलको नेता चयन गर्न नसकेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्दैछ।

संसदीय दलको निर्वाचन र पार्टीको महाधिवेशनको मिति तोक्ने लगायतका विषयमा छलफल गर्न राजपा अध्यक्ष मण्डलको बैठक चैत्र २१ गते बस्न लागेको हो।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पहिलोपोस्टसँग भने,‘चैत्र २१ गते बस्ने अध्यक्ष मण्डलको बैठकबाट संसदीय दलको नेता चयनका विषयमा छलफल हुनेछ। पार्टी महाधिवेशनको मिति पनि तय गर्ने विषयमा छलफल हुनेछ।’

यादवले अहिलेसम्म पार्टी महाधिवेशन सार्ने विषयमा छलफल नभएको बताए।

अध्यक्ष मण्डलका नेताहरु जिल्लाको कार्यक्रममा व्यस्त रहेकोले केही दिन यता बैठक बस्न नसकेको प्रष्ट पारे।

अध्यक्ष मण्डलका सदस्यबीच सहमति हुन नसक्दा राजपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन।

त्यसैगरी अध्यक्ष मण्डलका सदस्यहरु आफू अनुकूल पार्टी महाधिवेशन गराउने पक्षमा छन् ।

राजपा स्रोतका अनुसार अब बस्ने अध्यक्ष मण्डलको बैठकले स्थानीय र जिल्ला तहको अधिवेशनको मिति तोक्नेछ। त्यसको ६ महिनापछि केन्द्रीय अधिवेशनको मिति तोक्ने तयारी भइरहेको छ।

२०७३ बैशाख ७ गते एकता भएको राजपाले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने सहमति गरेको थियो।

प्रतिक्रिया दिनुहोस्