अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम सुरु गरेको बताउँदै उनले अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।
उनले यसका लागि सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रेमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको समेत जानकारी गराए ।
त्यसका लागि अर्थमन्त्री, गभर्नरसँग पनि छलफल गरिरहेको उनले बताए । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै प्रचण्डले त्यसका लागि पनि छलफल भइरहेको बताए ।
उनले अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै सँगै निजी क्षेत्रलाई पनि साथमा लैजाने बताए । सकारले निजी क्षेत्रका समस्यालाई पनि सम्बोधन गरी अर्थतन्त्रका समस्या समाधानका लागि समन्वय र सुझबुझ् गर्ने उनको भनाइ रहेको छ ।
साथै उनले बैंकहरू मर्जरमा जाँदा देशले बलियो गतिशील बैंकिङ क्षेत्र पाउने बताउँदै जनताले पाउने सेवामा भने ह्रास आउन नहुने बताए ।प्रचण्डले बैंकहरुको अब देशमा वित्तीय गतिविधि बढ्ने बताएका छन्।
‘अर्थततन्त्रमा नतिजामुखी काम गर्नुपर्ने भएको छ। पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र सुधार्ने गरी केही निर्णय गरेको छ। अझै हामीले अर्थतन्त्रलाई गतिशील बनाउनु छ’, उनले भने, ‘अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य बढाउने योजनामा सरकार छ। निजी क्षेत्रका चासो र मागहरु सम्बोधन गर्न सकिन्छ कि भनेर कोसिस गरिएको छ।’
उनले अर्थतन्त्रका विद्यमान समस्य समाधान गर्न सरकारले काम थालेपछि केही सकारात्मक नतिजा आएको बताए। ‘सरकार परिवर्तनले पुँजी बजारमा पनि सकारात्मक अपेक्षा देखिएको छ’, उनले भने, ‘समृद्धि अभियानमा बाधक नीति र कानुन पनि हामी फेर्छौँ। अब वित्तीय गतिविधि पनि बढ्छ।’
प्रतिक्रिया दिनुहोस्