प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणअघि संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले बिशेषगरी आफ्नो भ्रमणका एजेण्डाबारे संसद बैठकलाई जानकारी दिन सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले चैत १९ पछि बस्ने संसद बैठकमा सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

यद्यपी संघीय संसद सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे औपचारिक जानकारी नआएको बताएको छ ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले प्रधानमन्त्रीको सम्बोधनबारे अहिलेसम्म कुनै जानकारी नआएको बताए ।
संसदको बैठक चैत १९ गतेलाई बोलाइएको छ ।

यसअघि प्रधानमन्त्रीले १९ गते आफ्नो भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने तयारी आफुले गरेको एक सार्वजनिक कार्यक्रममा बताएका थिए ।

तर, पुर्व सांसद तथा काँग्रेस नेता खुमबहादुर खड्काको निधन भएकाले १९ गतेको बैठकमा शोक प्रस्ताव पारित गरेर अर्को बैठकमा मात्रै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका छन् ।

यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तयार गर्न विज्ञहरुसँग छलफल र परामर्श गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले परराष्ट्रमन्त्रालय र नेपाल सरकारका सम्बन्धीत मन्त्रालयबीच परामर्श गरेर भ्रमणको एजेण्डा तय गर्ने परम्परा बमोजिम त्यसैको गृहकार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्