मौद्रिक नीति सार्वजनिक गर्ने मिति तोक्यो राष्ट्र बैंकले
काठमाडौं, पुस २१ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक हुने मिति तोकेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन गर्दै मौद्रिक नीति सार्वजनिक गर्ने समय सीमा निर्धारण गरेको हो ।
संशोधित कार्यविधिअनुसार चालु आर्थिक वर्ष सुरु भएको एक साता भित्र (नयाँ आर्थिक वर्ष सुरु भएको ७ दिनभित्र) मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने हुन्छ । जसअनुसार अब साउन ७ गतेभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ ।
यसअघिका वर्षहरुमा मौद्रिक नीतिका लागि समय सीमा निर्धारण नहुँदा र परिवर्तित सरकारको हस्तक्षेपले गर्दा चालु आर्थिक वर्ष सकिएको एक महिनासम्म पनि मौद्रिक नीति सार्वजनिक हुन सकेको थिएन ।
संशोधित कार्यविधिमा विभागले वार्षिक मौद्रिक नीति तर्जुमाको लागि जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाको लागि हरेक त्रयमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग गर्न पत्राचार गरिने उल्लेख छ ।
प्राप्त रायसुझाव माथि आवश्यकता अनुसार वार्षिक मौद्रिक नीति तर्जुमाको लागि प्रत्येक वर्षको असार महिनाको पहिलो हप्तादेखि र त्रैमासिक तथा अद्र्धवार्षिक समीक्षाको लागि हरेक त्रैमास समाप्त भएको १५ दिन पछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल गरिनेछ ।
अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल सम्पन्न भए पछि मौद्रिक नीतिको मस्यौदा उपर व्यवस्थापन समितिमा छलफल प्रारम्भ गरिनेछ ।
संचालक समितिबाट पारित भएपछि सामान्यतः वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष शुरु भएको पहिलो हप्ताभित्र र त्रैमासिक तथा अद्र्धवार्षिक समीक्षा हरेक त्रयमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्ने कार्यविधिमा उल्लेखछ ।
प्रतिक्रिया दिनुहोस्