चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, पुराना ऋणीलाई राहत

काठमाडौं, पुस २० ।  नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ। संशोधनले पुराना ऋणीहरुलाई राहत दिएको छ।

योसँगै तोकिएको सीमाभन्दा बढी ऋण लिने ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले साढे दुई वर्षको समय दिएको छ।चालू प्रकृतिका कर्जा लिने पुराना ऋणीहरुलाई राष्ट्र बैंकले चालू सम्पत्तिको तुलनामा सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुलाई भुक्तानीको समय २०८२ असारसम्म थप गरिदिएको छ।

त्यसमा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी सुविधा थप गरिदिएको हो। राष्ट्र बैंकले बुधबार चालू पुँजी कर्जा मार्गदर्शन २०७९ को संशोधन गर्दै कुनै पनि ऋणीले सीमाभन्दा बढी चालू पुँजी कर्जा लिएको भए २०८२ असार मसान्तसम्ममा पाँच किस्ता गरी तिर्न सक्ने व्यवस्था गरेको हो।

ऋणीले पहिलो किस्ता १० प्रतिशत, दोस्रो, तेस्रो, चौथो २०–२० प्रतिशत र अन्तिम किस्ता ३० प्रतिशतका दरले ऋण तिरी सीमाभित्र ल्याउन सक्नेछन्।

उद्योगी व्यवसायीले मार्गदर्शन कार्यान्वयनमा आए उद्योग व्यवसाय नै सञ्चालन गर्न नसकिने भन्दै आन्दोलन गरेपछि आज राष्ट्र बैंकले बाध्य भएर संशोधन गरेको हो।

प्रतिक्रिया दिनुहोस्