कांग्रेस–एमाले सरकार, कति सम्भव ?

काठमाडौं, मंसिर १२ । नयाँ सरकार गठनका विषयमा राजनीतिक दलहरुले गृहकार्य अगाडि बढाउन थालेका छन् । यही बेला नेकपा एमालेका केही नेताहरुले कांग्रेस र एमालेको सरकार गठनको आवश्यकता औंल्याएका छन् । नेकपा एमाले उपमहासचिव विष्णु रिमालका अनुसार कुनै पनि दललाई सरकार बनाउन सक्ने गरी स्पष्ट बहुमत नदिएर जनताले एमाले र कांग्रेस सहितका दलहरुलाई मिलिजुली काम गर्ने जनादेश दिएका छन् ।

सत्तागठबन्धनले बहुमत नपाउनुले जनताको रुची सत्ता गठबन्धनमा नरहेको देखाएको उल्लेख गर्दै उनी भन्छन्, ‘फेरि पनि कसैलाई पनि बहुमत नदिएर तिमीहरु मिलिजुली काम गर भन्ने जनमत प्राप्त भयो ।’

यस्तो अभिव्यक्ति एमाले अध्यक्ष ओलीले चुनाव अगाडि नै गरेका थिए । एक अन्तरवार्तामा ओलीले भनेका थिए, कांग्रेस र एमाले सरकारमा सँगै जान पनि सक्छन् ।’ कांग्रेस र एमाले सँगै सरकारमा जान सक्नेमा उनले ब्याख्या गरेका थिए, ‘माधव नेपाल प्रधानमन्त्री भएका बेला कांग्रेसले समर्थन गरेको थियो, सरकारमा सँगै थियो । गिरिजाप्रसाद प्रधानमन्त्री भएका बेला म उपप्रधानमन्त्री थिएँ, परराष्ट्रमन्त्री थिएँ । त्यस्ता सम्भावनालाई अवस्थाअनुसार नकार्न सकिँदैन ।’

ओलीले चुनाव अगाडि नै भनेको विषय एमाले नेताहरुले चुनाव पछाडि पनि सम्झिएका हुन् । अर्कोतर्फ, यही बेला चुनावको अन्तिम परिणाम नआउँदै एमाले र कांग्रेसका नेताहरुबीच भेटघाट सुरु भएको छ । आइतबार मात्रै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेसका नेता प्रकाशमान सिंह ओली निवास बालकोट पुगे । प्रकाशमान पनि कांग्रेसबाट प्रधानमन्त्रीका आकांक्षी हुन् ।

आइतबारको भेटमा दुवै नेताले समसामयिक राजनीतिक विषयहरु छलफल गरेको दुबै नेताको सचिवालय बताउँछ । पार्टीमा संसदीय दलको नेतामा प्रतिस्पर्धाको तयारी गर्ने बताइरहेका नेता प्रकाशमान सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

एमाले नेता रिमालले एमाले र कांग्रेसको सरकार गठनको आवश्यकता औँल्याइरहँदा ओली र प्रकाशमानका बीचमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस वा एमालेले सरकार बनाउन धेरै दलहरु मिल्नुपर्ने हुन्छ । सत्ता गठबन्धनलाई मात्रै सरकार निर्माणका लागि आवश्यक जनमत छैन । संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा पार्टीले बहुमत सिद्ध गरेर गएपछि राष्ट्रपतिले प्रधानमन्त्री बन्नलाई आमन्त्रित गर्छन । यस्तो अवस्थामा सत्ता गठबन्धनले के गर्छ त्यसपछि कदम चाल्ने एमालेको नीति छ । तर, त्यस अगाडि एमालेले पनि सरकार गठनको सम्भावनालाई ख्याल गर्दै गृहकार्य अगाडि बढाएका बेला कांग्रेसका नेताहरूसँग पनि संवादमा जुटेको हो ।

एमाले स्वंम नै कांग्रेससँग छलफल गर्न तयार भएको रिमाल बताउँछन् । उनी भन्छन्, ‘अहिलेको चुनौती सरकार कसले बनाउनेभन्दा पनि स्थिरता कसरी दिने भन्ने कुरा प्रमुख हो । स्थिरताका लागि कांग्रेस र एमाले सँगै बसेर कुरा गर्न जरुरी छ । नेपाली कांग्रेस मुलुक र प्रजातन्त्रलाई कसरी सुदृढ बनाउन चाहन्छ भन्ने विषयमा ऊसँग हामी रचनात्मक छलफल गर्न तयार छौँ । अहिले हामी टाउको गन्ने र संख्या पुर्यायाएर प्रधानमन्त्री खाने स्थितिमा छैनौं ।’

रिमालका अनुसार एमालेले मिलिजुली सरकार चलाउने सन्दर्भमा कांग्रेसँग कुरा गर्न चाहेको छ । यसका पछाडि राजनीतिक स्थितरता दिने तर्क गरिएको छ । ‘सरकारका बारेमा दुई–तीन वटा विकल्प हुन सक्छन् । कांग्रेसले सत्ता गठबन्धनले नै बहुमत पुर्‍याउन सक्छ भन्यो भने हामी प्रतिपक्षमै बस्न तयार छौं । दुई वटा पार्टीले सरकार सञ्चालनको मोडलबारे छलफल गरेर निष्कर्ष निकाल्ने र त्यसमा जाने हो ।’

सरकार गठनका नेकपा माओवादी केन्द्र निर्णायक बनेन । माओवादीकै बराबरको अर्को पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदय भएको छ । कांग्रेसले माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गरायो भने केही झमेला गर्नै परेन । राष्ट्रिय स्वतन्त्र पार्टीलाई ल्याउन नसकेको अवस्थामा अर्को विकल्पबारे कांग्रेस र एमालेले छलफल गर्नुपर्ने रिमाललाई लाग्छ । उनी भन्छन्, ‘सांसद किनबेचको संस्कारलाई प्रर्वद्धन गर्ने ढंगले कांग्रेस र एमाले अघि बढेमा अस्थिरता र बेथिति अघि बढ्छ । यसकारण अस्थिरता र बेथिति आउन नदिन कांग्रेस र एमालेले नै छलफल गर्नुपर्यो ।’

तर, संसदीय व्यवस्थामा स्पष्ट बहुमत पाए उसैले सरकार बनाउने हो । स्पष्ट बहुमत नपाएको अवस्थामा पहिलो वा दोस्रो दलले दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार बनाउने हो । तथापि, दोस्रो दललाई प्रतिपक्षीमै रहने म्यान्डेड पाएको मानिन्छ । किनभने प्रतिपक्ष दह्रिलो भए मात्रै संसदीय व्यवस्थामा विकृति नआउने विश्वास गरिन्छ । यस विश्वासका आधारमा कांग्रेस र एमालेको सरकारको सम्भावना नरहेको टिप्पणी गर्नेहरु पनि छन् ।

प्रतिक्रिया दिनुहोस्