संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

काठमाडाैं  राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्लाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले आज पहिलो पटक सम्बोधन गर्न लाग्नुभएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने कार्यक्रम हुँदै आएकामा संविधानको नयाँ व्यवस्थानुसार निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुन लागेको हो ।

राष्ट्रपतिले सबै निर्वाचन सम्पन्न गरी नयाँ सरकार गठन भएर मुुलुक स्थिरता र विकासको बाटामा लम्कन खोजेकामा बधाई दिँदै आर्थिक समृद्धिका लागि सबैमा आह्वान गर्ने बुझिएको छ । आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रमका लागि आगामी अधिवेशनमा राष्ट्रपतिबाट अलग्गै सम्बोधन हुनेछ ।

संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्र घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्नुहुनेछ ।

बैठक कक्षमा राष्ट्रपतिले आसन ग्रहण गरेपछि प्रधानमन्त्रीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नुहुनेछ । संवैधानिक राष्ट्रपतिले नेपाल सरकारको सिफारिसमा सम्बोधन र निर्णय गर्ने परम्परा छ । नेपालको संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्