मतदानको ३ तीन दिनभित्रै मतगणना सम्पन्न हुने, प्रक्रिया यस्तो छ

काठमाडौं, मंसिर २ । निर्वाचन आयोगले आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने जनाएको छ।

निर्वाचन आयोगले मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ । मंसिर २० गतेसम्म मतगणनाको सम्पूर्ण प्रक्रिया पूरा गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगले जनाएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएलगत्तै मतगणना सुरु हुनेछ। तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं।’ २२ मंसिरभित्र चुनावका सबै नतिजाको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी भइरहेको उनले बताए।

यता मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइन्छ । जुन ठाउँमा उम्मेदवारको मनोनयन गरेको हो सोही कार्यालयमा मतगणना हुने निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।

उनले भने– ‘मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुन्छ । सबै मतदानस्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्छ र मतगणनाको काम सुरु हुन्छ । मतगणना कार्यमा उम्मेदवारका प्रतिनिधि बस्न पाउने व्यवस्था हुन्छ । मतगणना निर्देशिकामा तोकेका व्यक्तिहरू मतगणनास्थलमा बस्न पाउने व्यवस्था हुन्छ । निर्वाचन पर्यवेक्षकहरुलाई पनि अलि टाढाबाट मतगणना हेर्न पाउने व्यवस्था हुन्छ ।’

मतगणना गर्दा सम्भव भएसम्म प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली दुवैको एकैपटक गरिने उनले बताए । यदि ठाउँ र कर्मचारीको अभाव भएमा सबैभन्दा पहिला प्रत्यक्ष तर्फको मतगणना गर्ने र त्यसपछि समानुपातिक तर्फको मतगणना गरिनेछ ।

उनले भने– ‘सम्भव भएसम्म सबै मतपत्र एकैपटक गन्नु भन्ने छ यदि सम्भव नभएमा सुरुमा प्रत्यक्ष तर्फको र त्यसपछि समानुपातिक तर्फको मतगणना गर्नु भनेर आयोगबाट निर्देशन भएको छ । मतगणनाको सुरुमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारलाई पहिलो प्राथमिकता दिनु भनिएको छ ।’

जनशक्तिको उपलब्धता अनुसार विभिन्न टोली बनाएर छिटो मतगणना सम्पन्न गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा देशभर एकै चरणमा हुँदै छ। चुनावमा १ करोड ७९ लाख ८० हजार ५७० मतदाता रहेका छन्। मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्