रवि लामिछानेको आज थुनछेक बहस, कस-कसले गर्दै छ बहस ?
काठमाडौं, १० माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग रुपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुने भएको छ । बुधवार सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अदालतमा उपस्थित भएका लामिछानेलाई बयानपछि आज १० बजे अदालत उपस्थित गराउने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लाएको थियो ।
न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा आज थुनछेक बहस हुने श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायधिवक्ताहरु गोकर्णराज घिमिरे, वसन्त पोख्रेल, लगायतले बहस गर्ने छन् । यस्तै जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीले पनि बहस गर्ने तयारी गरेका छन् ।
प्रतिवादी लामिछानेका तर्फबाट नारायणदत्त कँडेल र सुशील पन्तको नेतृत्वका बहस हुनेछ । उनीहरूसँगै काठमाडौँ र पोखरा बहस गरेका धेरै कानुन व्यवसायीहरूले बहस गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राज घिमिरेले रातोपाटीलाई बताए ।
माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जना विरुद्ध मुद्दा परेको थियो । त्यसमध्ये पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी,सहकारीका संरक्षक गितेन्द्रबाबु (जिवी) राई सहितका २२ जना विरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो । ती २२ जनाबाट समुहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ । हिजो रविलाई परिवारको जिम्मा लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्