एमाले-माओवादी एकता : कार्यदलसहितको शीर्ष तहको बैठक आज बस्दै
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि गठित कार्यदलसहित शीर्ष तहको बैठक आज बस्ने भएको छ । कार्यदलस्तरमा सहमति भएका बिषयलाई अन्तिम रुप दिन दिउँसो १ बजे शीर्ष बैठक बोलाइएको एमाले नेता एवं राजनितिक कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि नै २ पार्टीबीचको एकता प्रक्रिया टुंग्याउने गरी दुबै पार्टीले गृहकार्य अघि बढाएका छन् । तर, एकता सम्बन्धी प्रतिवेदनलाई अन्तिम चरणमा पुर्याएको कार्यदलले एकीकृत पार्टीका विभिन्न तहको संख्यामा भने सहमति जुटाउन सकेको छैन ।
संख्याको बारेमा सहमति जुट्न बाँकी रहेको र आजको बैठकले कति संख्या राख्ने भन्ने टुंगो लगाउने नेता नेम्वाङले बताउनुभयो ।
राजनीतिक र विधान तथा संगठनात्मक कार्यदलको प्रतिबेदन माथि छलफल गरी सहमति बने, एकता प्रक्रियाको महत्वपुर्ण पाटो सकिने नेताहरुले बताएका छन् ।
यद्यपी एकतापछिको पार्टीको मार्गदर्शक सिद्धान्त तथा संगठनात्मक भागबण्डा लगायतका बिषयमा मतभेद देखिएकाले ती बिषयमा गम्भीर छलफल आवश्यक रहेको माओवादीका नेताहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्