डेंगु संक्रमण उच्च बिन्दुमा : संक्रमित २२ हजार नाघ्दा २९ को मृत्यु

काठमाडौं, असोज ९ । कोरोना महामारी जस्तै अहिले डेंगु संक्रमण उच्च बिन्दुमा पुगेको छ । असारको पहिलो सातादेखि सुरु भएको डेंगुबाट हालसम्म २२ हजार नौ सय ५२ जना संक्रमित भएका छन् ।

यीमध्ये २९ को मृत्यु भएको छ । भयावह रूप लिइरहेको डेंगु नियन्त्रणमा आउन अझै दुई महिना लाग्ने प्रक्षेपण गरिएको छ । कात्तिक अन्तिम सातादेखि डेंगु नियन्त्रणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनले देखाएको हो ।

२२ हजार ९५२ संक्रमित, धेरै उपत्यकामा

देशभर डेंगु संक्रमितको संख्या २२ हजार नौ सय ५२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २९ पुगेको छ । हाल संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा छन् । काठमाडौंमा सात हजार तीन सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने ललितपुरमा पाँच हजार पाँच सय ८५ पुगेको छ । त्यस्तै, मकवानुपरमा दुई हजार एक सय ३५, दाङमा एक हजार दुई सय ७५, रुपन्देहीमा सात सय आठ, भक्तपुरमा एक हजार ५० जनामा डेंगु संक्रमण भएको छ । यी जिल्ला सबैभन्दा धेरै डेंगु फैलने जिल्लामा पर्छन् । महाशाखाका अनुसार मुस्ताङ र हुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ ।

सबैभन्दा धेरै संक्रमण बागमतीमा

हाल सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा फैलिएको छ । बागमती प्रदेशमा १७ हजार सात यय ३१, लुम्बिनीमा दुई हजार आठ सय २१, प्रदेश १ मा पाँच सय ९१, मधेस प्रदेशमा तीन सय २३, गण्डकीमा पाँच सय १५, सुदूरपश्चिममा सात सय ७७ र कर्णालीमा दुई सय ३० जना डेंगु संक्रमित भेटिएका छन् ।

यता स्वास्थ्य मन्त्रालयले भदौ पहिलो साता नै सबै स्थानीय तहअन्तर्गतका स्वास्थ्य विभाग तथा शाखा, जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्यचौकीलगायतलाई डेंगु नियन्त्रणका कार्यक्रम बनाउन निर्देशन दिएको थियो । तर, स्थानीयस्तरमा लार्भा नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा संक्रमण उच्च बिन्दुमा पुगेको छ । यसलाई रोक्न स्थानीय तहकै भूमिका रहने भए पनि उनीहरूले चासो नदिँदा संक्रमणदर बढेको मन्त्रालयका प्रवक्ता डा। ठाकुरले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले पनि यसको रोकथामबारे पुग्दो जनचेतना र कार्यक्रम नभएको बताए । उनले लामखुट्टे, लार्भा र त्यसको वासस्थान नष्ट गर्नेबारे स्थानीय सरकार ऐक्यबद्ध नहुँदा संक्रमण बढिरहेको बताए ।उनका अनुसार विगतको संक्रमणदर र तथ्यांक हेर्दा कात्तिकदेखि यो नियन्त्रणमा आउने देखिन्छ । तर, अझै एक महिना यसले ‘पिक’ लिन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्