एमाले माओवादी केन्द्र एकता : राजनीतिक प्रतिवेदन आज कार्यदलमा पेस गरिदै

काठमाडौँ ।  एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले मस्यौदा प्रतिवेदन दफाबार छलफलका लागि आज कार्यदल बैठकमा पेस गर्दैछ। एमाले नेता माधवकुमार नेपाल नेतृत्वको उक्त कार्यदलले राजनीतिक विषय समेटिएको प्रतिवेदन दफाबार छलफलपछि अन्तिम रुप दिइ एकता संयोजन समितिमा पेस गर्नेछ। कार्यदलले मस्यौदा प्रतिवेदन लेखन सकिसकेको छ।

एकता प्रक्रियाको विधान मस्यौदा कार्यदलले भने प्रारम्भिक मस्यौदा सकेर दफाबार छलफल गरिरहेको छ। तर, विधान मस्यौदा कार्यदलका संयोजक एवं माओवादी केन्द्रका नेता रामबहादुर थापा मन्त्री भएपछि प्रतिवेदनले अन्तिम रुपमा पाउन सकेको छैन।

दुबै कार्यदलमा रहेका धेरै नेताहरु मन्त्री भएपछि एकता प्रक्रियाका दस्तावेज लेखनको काम पनि प्रभावित बनेको छ।

राजनीतिक प्रतिवेदन मस्यौदा समितिले तत्काललाई दुबै पार्टीले अँगाल्दै आएका सिद्धान्तलाई महाधिवेशनसम्म थाती राखेको छ। नेकपा एमालेले मान्दै आएको जबज र माओवादी केन्द्रले मान्दै आएको माओवादको छिनोफानो महाधिवेशनबाटै हुनेछ।

पार्टी एकता संयोजन समितिले फागुन ७ गते १५ दिनको कार्यावधिसहित माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेको थियो।

फागुन २५ गते पुनः दुबै समितिको समयसीमा चैत ५ गतेसम्म थप गरिएको थियो। तर, सकिएको समयसीमामा पनि अन्तिम प्रतिवेदन भने तयार भएका छैनन्।

२०७४ वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकताको घोषणा गर्ने दुबै दलको तयारी छ।

तर, माओवादी केन्द्रको शनिबारको पार्टी हेडक्वार्टरको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि नै एकता गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीले ओलीले पनि माओवादी केन्द्रसँग भारत भ्रमणअघि पार्टी एकताको प्रस्ताव राखिसकेका छन्।

प्रधानमन्त्रीको ओली चैत २३ गते भारत जाने तयारी छ। परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा भ्रमणको मिति र तालिका भने सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्