कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, नेताहरुले धारणा राख्ने

काठमाडौं । निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

शुक्रबारबाट सुरु बैठककाे पहिलाे दिन नेताहरुले समसामयिक राजनीति र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा गरेका थिए । अहिले बिहान १० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा अाज पनि नेताहरुले धारणा राख्ने छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको र आज पनि नेताहरुले धारणा राख्ने जानकारी दिए ।

हिजोको बैठकमा पार्टीका नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र नारायण खड्काले धारणा राखेका थिए । उनीहरुले पार्टी दुर्गतिको मुख्य जिम्मेवार सभापति शेरबहादुर देउवा भएको भन्दै उनको कडा आलोचना गरेका थिए ।

निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले केन्द्रीय समिति बैठक केही दिन लम्बिन सक्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्