प्रधानमन्त्री ओली भने – सेनालाई थप क्षमतावान बनाउन पूर्ण सहयोग हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई साधनस्रोत सम्पन्न बनाई सुदृढ एवं थप क्षमतावान् बनाउन सरकारले पूर्ण सहयोग गर्ने दृढता व्यक्त गरेका छन् ।

शुक्रबार जंगी अड्डाको निरीक्षण भ्रमणका क्रममा उनले विश्व शान्ति स्थापनार्थ नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्दै स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका समयमा सिर्जना भएको असहज परिस्थितिमा समेत सेनाले पुर्याएको योगदानले नेपाली सेना जनतामाझ सम्मानित भएको उल्लेख गरे

राज्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौतीलाई पनि सामना गर्नसक्ने गरी नेपाली सेना तयार रहनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपाली सेनाले आफ्नो मूल्यमान्यतामा कायम रही कर्तव्य पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले नेपाली सेनाले विकास निर्माण, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण जस्ता कार्यक्रमा पु¥याएको योगदानका लागि धन्यवादसमेत व्यक्त गरे ।

सो अवसरमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति राजेन्द्र क्षत्री, बलाधिकृत रथी पूर्णचन्द्र थापाले मन्तव्य व्यक्त गरेका थिए कार्यक्रममा नेपाली सेनाका विभिन्न विभागका प्रमुखले वर्तमान वस्तुस्थितिको जानकारी गराउनुका साथै नेपाली सेनाको जिम्मेवारी, अपरेशन गतिविधि, आन्तरिक सुरक्षा, कल्याणकारी कार्य र नेपाली सेनाको संगठन तथा नीति नियमसम्बन्धी प्रस्तुतिकरण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्