कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु ,यस्ता छन् मुख्य एजेण्डा

। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ ।

हालै सम्पन्न आमनिर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म नराम्ररी हार ब्यहोरेको कांग्रेसमा नेतृत्वको कारण पार्टी पराजित भएको बुझाइ छ । तर नेतृत्व भने आफ्नो मात्र कारणले पार्टी पराजित नभएको भन्दै उम्कने बाटो खोजिरहेका बेला आजबाट बस्ने बैठकमा पराजयको समीक्षा हुने बताइएको छ ।

निर्वाचनपछि चारपटक केन्द्रीय कार्यसमिति बैठक बसे पनि ती बैठकमा पार्टीको पराजयबारे गम्भीर बहस हुन सकेको थिएन । तत्कालिन कार्यसूचीअनुसार बसेका ती बैठकका एजेण्डा सीमित गरिएका थिए भने आजबाट बस्ने बैठकमा सबै विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सरकार र पार्टीमा रहँदाको नेतृत्व रवैयाका कारण पार्टी पराजित बनेको आरोप अर्का पक्षले लगाइरहेको छ भने देउवा पक्ष हारको जिम्मेवारी सबैले लिनुपर्ने बताउँदै आएको छ ।

बैठकले संविधानमा भएको फेरबदल अनुसार पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचना बनाउनेबारेमा पनि छलफल गर्नेछ । पार्टीलाई संघीय संरचना अनुसारको ढाँचामा लैजान विधान संशोधन गर्ने तयारी रहेको नेताहरुले जनाएका छन् ।

महाधिवेशनबाट नयाँ नेतृत्व आएको दुई वर्ष भइसक्दासमेत सभापति देउवाले पदाधिकारी मनोनयन गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्