फोहोरको डंगुरले गिज्याइरहेको संघीय राजधानी, महामारी निम्तिने त्रास

काठमाडौं, साउन २० ।  संघीय राजधानी काठमाडौं उपत्यकाको सडक छेउमा फेरि फोहोर थुप्रिन थालेको छ। उपत्यकाका विभिन्न सहर तथा गल्लीमा फोहोर उठ्न नसक्दा दुर्गन्ध बढेसँगै महामारी निम्तिने त्रास उत्तिकै छ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले डेढ महिनाअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएपछि आउँदो १ भदौबाट फोहोर फाल्न नदिइने बताउँदै आएका छन्।

सिसडोल र बञ्चरेडाँडाबासीले दिएको समयसीमाअघि नै काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिन थालेको हो। महानगरले १ साउनदेखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसक्दा पनि पहिरो र सडक मर्मतका कारण फोहोरका गाडी बञ्चरेडाँडा र सिसडोल पुग्नै सकेका छैनन्।

बञ्चरेडाँडा र सिसडोल जाने बाटो पुनः बिग्रिएपछि उपत्यकाको फोहोर उठ्न नसकेको काठमाडौं महानगरका सह–प्रवक्ता महेश काफ्ले बताउँछन्। ‘सिसडोल जाने बाटोमा माथि डाडाँबाट माटो खसेर बाटो पुनः अवरूद्ध भएको छ। फोहोर बोकेका गाडी फसेका छन्,’ उनले भने, ‘त्यसैले फोहोर उठाउन नसकिएको हो।’

सडक विभागलाई पनि सडक बनाउन आग्रह गरिएकाले केही दिनपछि सडकमा थुप्रिएका फोहोर पुनः उठ्ने उनको दाबी छ। ‘सडक विभागलाई भनिसकेका छौं। म आफैं भर्खरै सिसडोल पुगेर अवलोकन गरी आएको हुँ,’ उनले भने, ‘५–६ दिनमा फोहोर उठ्छ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जनशक्ति थपेरै भए पनि सडक निर्माण पूरा गर्ने र त्यसपछि सडक गल्लीमा थुप्रिएको फोहोर उठाउन थालिने भने पनि अहिलेसम्म उठेको छैन।

उपत्यकाका विभिन्न सहर तथा गल्लीमा फोहोर उठ्न नसक्दा दुर्गन्ध बढिरहेको छ।यसअघि महानगरले ४ साउनमा एक साता फोहोर घरबाट ननिकाल्न नगरबासीलाई सूचना निकालेरै आग्रह गरेको थियो। काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जन स्थल बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित सडक निर्माण सम्पन्न गर्न कम्तीमा साता दिन लाग्ने भएकाले कुहिने र नकुहिने फोहोर छुट्याएर एक सातासम्म घरमै व्यवस्थापन गर्न महानगरले सूचनामा भनेको थियो।

महानगरले अगाडि भनेको थियो, ‘कम्तीमा एक साता सवारी साधन आवागमन बन्द गरिदिन भनी सहरी विकास तथा भवन विभागबाट लेखी आएकाले उक्त अवधिसम्म आ–आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिनुहुन सबै नगरबासीमा अनुरोध गरिन्छ।’

महानगरले गत ३२ असारमा १ साउनदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको थियो। महानगरले सूचना जारी गरी आइतबार र बुधबार कुहिने फोहर संकलन गरिने घोषणा गरेको थियो। उसको घोषणामा नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने भनिएको छ।

तोकिएबमोजिम फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको थियो। तर फोहोर व्यवस्थापन पटक–पटक अवरुद्ध हुँदै आएपछि महानगरको घोषणा सूचनामै सीमित भएको छ। तोकिएको दिनमा वर्गीकरण नगरेको फोहोर संकलन गर्ने गाडीसम्म ल्याए पुनः घरमै फर्काएर कारबाहीस्वरूप ५०० रुपैयाँ जरिमाना गर्ने चेतावनी महानगरले दिइसकेको छ।

यसअघि गत जेठ २४ मा प्रभावित क्षेत्रका जनप्रतिनिधि, मन्त्रालय र महानगरबीच फोहोर विसर्जन स्थलमा अवरोध नगर्न भएको सहमति २४ घन्टासम्म पनि टिकेको थिएन। बन्चरेडाँडाका स्थानीय र फोहोरका गाडी लिएर स्कर्टिङमा गएको प्रहरीबीच झडपसमेत भएको थियो। उपत्यकाको फोहोर फाल्न बन्चरेडाँडामा पुगेका महानगरका गाडीलाई अवरोध गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो।

सहरी विकास मन्त्रालय तथा महानगर र प्रभावित क्षेत्रका प्रतिनिधिबीच आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख विनियोजन गर्ने सहमति भएको थियो।

वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रका स्थायी वासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालन गर्न सरकारलाई आग्रह गर्ने सहमति भएको थियो। तर वार्ता टोलीको निर्णयलाई स्थानीयले अस्वीकार गर्दा फोहोर व्यवस्थापन पुनः बल्झिएको थियो।

काठमाडौं उपत्यकाका तीन वटै स्थानीय तहले व्यवस्थापन गर्दै आएको फोहोरले सिसडोल भरिएपछि यतिबेला संघीय राजधानीका बाटाघाटा हिँड्न नसक्ने अवस्थामा छन्। कोरोना महामारीका बेला स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरे पनि राजधानी काठमाडौंमा थुप्रिएको फोहोरले अर्को रोग निम्त्याउने त्रास उत्तिकै छ।

सिसडोल पुग्ने सडक लगातारको वर्षाले क्षतविक्षत बनाएपछि काठमाडौं महानगरले सूचना जारी गर्दै एक साता फोहोर घरबाहिर ननिकाल्न नगबासीलाई अनुरोध गरेको थियो । तर महिना दिनसम्म पनि पनि काठमाडौंको फोहोर उठ्ने छाँटकाँट देखिन्न।

काठमाडौंका गल्ली, चोक जताततै फोहोरका डंगुर देख्न सकिन्छ। यसले महानगरलाई गिज्याइरहेको भान हुन्छ। सिसडोलमा फोहोर फाल्न थालेदेखि नै महानगरले उचित व्यवस्थापन नगर्दा बेलाबेला काठमाडौं फोहोरले भरिन्छ।

महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ। तर अहिलेसम्म दिगो व्यवस्थापनमा कुनै पनि सरकारले ध्यान दिन सकेको देखिँदैन। फोहोरमा राजनीति गरिएपछि सिसडोलका वासिन्दा आन्दोलित हुन्छन्, महानगरले सम्झौता गर्छ तर कार्यान्वयनमा ध्यान नदिँदा वर्षौंदेखि उपत्यकाको फोहोर व्यवस्थापनमा व्यवधान देखिँदै आएको छ।

उपत्यकामा सामान्य समय हरेक दिन २ सय गाडीले फोहोर व्यवस्थापन गर्दै आएका थिए। एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्यान्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारण बिग्रेपछि निर्माण सम्पन्न हुन कति दिन लाग्ने हो, त्यसको अत्तोपत्तो छैन।

काठमाडौंका सडक किनारामा जताततै फोहोर राखिँदा दुर्गन्ध फैलिएको छ । महानगरले दुई वर्षका लागि १३ वर्षदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर नुवाकोटको ककनी गाउँपालिका वडा–२ स्थित सिसडोलमा रहेको ल्यान्डफिल साइटमा विसर्जन गर्दै आएको छ।

हाल फोहोर विसर्जन भएको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न २२ वैशाख २०७६ मा एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता भएको थियो।

बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माणको काम समयमै नसकिँदा समय–समयमा फोहोर व्यवस्थापनमा समस्या आइरहेको महानगरको दाबी छ। सिसडोलमा नियमित फोहोर व्यवस्थापन हुने बेला महानगरले दिगो व्यवस्थापनमा फिटिक्कै ध्यान नदिने र समस्या आएपछि मात्र जुर्मुराउने गर्दा पनि समस्या हुँदै आएको छ।- रासस 

प्रतिक्रिया दिनुहोस्