कार्यदलका अधिकांश सदस्य मन्त्री बनेपछि एमाले-माओबादी पार्टी एकता प्रक्रिया प्रभावित

काठमाडौं  । एकीकृत पार्टीको अन्तरिम बिधान मस्यौदा कार्यदलका अधिकांश सदस्य मन्त्री भएपछि एमाले–माओवादी पार्टी एकता प्रक्रियाका काम प्रभावित भएको छ । कार्यदलका संयोजकसहित अधिकांश नेता मन्त्री भएपछि एकता प्रक्रियाका काम प्रभावित भएको हो ।

कार्यदलको बैठक बस्न नसकेकाले फागुन २५ भित्र तयार पार्ने भनिएको अन्तरिम बिधान र जनसंगठनहरुको एकीकरण सम्बन्धी काम अलपत्र परेको छ । कार्यदल संयोजक रामबहादुर थापा र ईश्वर पोखरेल गोकर्ण बिष्ट, वर्षमान पुन, गिरिराजमणी पोखरेल, रघुवीर महासेठ, मात्रिका यादव मन्त्री भएपछि एकता प्रक्रियाको काम रोकिएको हो ।

कार्यदलमा माओवादीबाट प्रतिनिधित्व गर्ने जनार्दन शर्मा बाहेक सबै मन्त्री भएका छन् भने एमालेबाट बिष्णु पौडेल, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल बाहेक सबै मन्त्री भएका छन् । कार्यदलको बैठक बस्न नसकेपछि अन्तरिम बिधानको मस्यौदा, पार्टीको मार्गनिर्देशक सिद्धान्त र संगठत्मक सिद्धान्त बिषयमा सहमति पनि जुट्न सकेको छैन ।

चुनाव लगत्तै पार्टी एकीकरण गर्ने भन्दै एमाले र माओवादी केन्द्रले गएको असोज १७ गते तालमेलको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्