मेयर चौधरीको स्वास्थ्य अवस्था बुझ्दै प्रधानमन्त्री ओलीले भने– गोलीकाण्डको निष्पक्ष छानबिन हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

फागुन २८ गते अपरिचत समूहको गोली र खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चौधरीलाई प्रधानमन्त्री ओलीका साथै नेकपा एमालेका नेताहरुले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्वास्थ्य अवस्था बुझेका हुन्।

सो क्रममा चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदीप थापाले चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी प्रधानमन्त्री ओलीलाई गराए।

प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचार खर्च सरकारले व्यहोर्ने भन्दै कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

त्यस क्रममा प्रधानमन्त्री ओलीले चौधरीमाथि भएको गोलीकाण्डको निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताएका थिए।

‘घटनाको छानबिन हुन्छ। दोषी उम्किन पाउँदैनन्’, प्रधानमन्त्री ओलीले भने।

चौधरीको स्वास्थ्य बुझ्न नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा राजन भट्टराई समेत अस्पताल गएका थिए।

प्रतिक्रिया दिनुहोस्