अमेरिकाबाट चाँडै उच्चस्तरीय भ्रमणको तयारी हुँदैछ : परराष्ट्र मन्त्रालय

काठमाडौं, बैशाख १६ ।  परराष्ट्र मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट उच्चस्तरीय भ्रमणको गृहकार्य भइरहेको बताएको छ । सन् १९४८ मा दौत्य सम्बन्ध स्थापना भएयता नेपालमा अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला परराष्ट्रले भ्रमणको गृहकार्य भइरहेको जानकारी दिएको हो ।

नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध कायम भएको ७५औं वर्षगाँठ मनाउँदै गर्दा द्विपक्षीय भ्रमण आदान प्रदान बढेको भन्दै परराष्ट्रले उच्चस्तरमै गराउन पहल भइरहेको जानकारी दिएको हो । अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिंगले १९ देखि २१ अप्रिलसम्म तीन दिने नेपाल भ्रमण गरेको, अप्रिल २२ बाट सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा रहेको ६ सदस्यीय अमेरिकी उच्चस्तरीय संसदीय टोलीले नेपाल भ्रमण गरेको उल्लेख गर्दै परराष्ट्र प्रवक्ता सेवा लम्सालले भनिन्, ‘हाइ लेभलमा गराउन गृहकार्य गरिरहेका छौं । तर अहिले नै भन्नै पर्ने खालको केही छैन ।’

प्रवक्ता लम्साले अमेरिकाबाट उच्चस्तरीय भ्रमणको ‘वर्कआउट’ भइरहेको भन्दै हालै अमेरिकी राजदूतले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटे गरेर छलफल गरेको पनि जानकारी गराइन् । तर उच्च तहमा अमेरिकाबाट को आउँदैछन् भन्ने खुलाइनन् । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै अमेरिकी अधिकारीको नेपाल भ्रमण बढेको छ । स्थानीय चुनावलगत्तै अमेरिकाबाट उच्च तहमा भ्रमण हुने परराष्ट्रका अधिकारी बताउँछन् ।

‘चीनसँग सीमामा समस्या छैन’

परराष्ट्र मन्त्रालयले उत्तरी छिमेकी चीनसँग सीमामा सुरक्षासम्बन्धी कुनै समस्या नरहेको बताएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले नेपाल-चीन गृह सचिवस्तरीय बोर्डर टास्कफोर्सको बैठक सम्पन्न भएको जानकारी दिइन् । ‘चाइनासँग कुनै बोर्डर सेक्युरिटी इस्यु छैन। बोर्डरमा भएका गतिविधिबारे सूचनाको आदान प्रदान गर्ने कार्य भयो । खासै अरू केही भएन,’ उनले भनिन् ।

प्रवक्ता लम्सालले राष्ट्रपति भण्डारीले बोआओ फोरममा सम्बोधन गरेको र कोभिडमा प्राप्त भएको सहयोगको चर्चा गरेको बताइन् । नेपाल भ्रमणमा आएका विश्व स्वास्थ्य संगठन महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको प्रगतिको सराहना गरेको बताइन् ।

‘नेपालले संविधानमै स्वास्थलाई मौलिक हक राखेको र पूर्वाधारमा गरको प्रगतिको उच्च सराहना गर्नुभयो । भूकम्पपछिको स्वरूपबाट प्रभावित हुनुभयो । भ्याक्सिनमा डब्लूएचओको मापदण्डअनुसार गरेको प्रगतिको पनि सराहना गर्नुभयो । सबै हिसाबले भ्रमण महत्वपूणर् रह्यो,’ उनले भनिन् ।

उनले बिमस्टेकको ऊर्जामन्त्रीस्तरीय बैठक भर्चुअल माध्यमबाट काठमाडौंमा सम्पन्न भएको जानकारी दिइन् । उनकाअनुसार पम्फा भुसालल अध्यक्षता गरेकी थिइन् । बैठकमा सदस्य राष्ट्रबीच अन्तर आबद्धता, ऊर्जा साझेदारीमा जोड दिइएको थियो। सहयोग आदानप्रदान गर्ने, भारतको बैंगलोरमा स्थापना हुने विमस्टेक उर्जा केन्द्र शिघ्र संचालनमा जोड दिइएको थियो ।

प्रवक्ता लम्सालले परराष्ट्रले विद्युतीय राहदानी सेवा प्रवाहमा अहिले व्यवस्थित बनाएको बताइन्। ‘प्रारम्भिक चरण र प्रविधिको कारणले सुरूवाती चरणमा समस्या आयो । भीडको अवस्था अहिले निकै नै नियन्त्रण भएको छ,’ उनले भनिन्, ‘अधिकांश ठाउँबाट अहिले वितरण भइरहेको छ । निकट भविष्यमा सबैतिरबाट सुरू गर्न सकियोस्। हवाई यातायात सहज भएको ठाउँमा दुई हप्ताभित्र दिइरहेका छौं । हिमाली र विकट जिल्लामा अलि बढी लागेको छ । यसलाई कसरी सहजीकरण गर्ने भनेर लागिरहेका छौं ।’

हालसम्म दुई लाख ३० हजार २ सय विद्युतीय राहदानी वितरण गरिसकेको बताइन् । उनकाअनुसार राहदानी विभागमा संग्रहालय स्थापनाको तयारी भइरहेको छ । ‘हाम्रो इतिहास, संस्कृति झल्काउनेगरी संग्रहालय निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । छिट्टै परराष्ट्रमन्त्रीले उदघाटन गर्नुहुन्छ,’ उनले भनिन् ।

कन्सुलर सेवा अनलाइन प्रणालीमा व्यवस्थित गरिएको र छिटो छरितो गर्ने प्रयास थालिएको बताइन् । सरकारी कार्यालयमा दुई दिन विदामा पनि परराष्ट्र सेवामा सहजीकरण गरिने उनको भनाइ छ । बीबीआईएन फोरममा सहभागी हुन ऊर्जामन्त्री पम्फा भुसाल बंलादेशमा भ्रमणमा रहेको जानकारी दिइन् । प्रधानमन्त्रीको भारत भ्रमणका बेला भएका सम्झौता कार्यान्वयको काम भइरहेको प्रवक्ता लम्सालले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्