अब पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क पाइने
काठमाडौं,३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । अब पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क पाइने भएको छ ।
हरेक वर्ष झण्डै ८०० जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताए । उपचार गर्न सकिने भए पनि औषधि दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गैरहेको छ ।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, यसलाई रोक्न सरकारले नै औषधि प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।
रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।
थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधिको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गैरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । यो औषधिको एउटा मात्राको मुल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । यस्तै, यो सहजै उपलब्ध नहुने भएकाले औषधि नपाएकै कारण धेरैको ज्यान गैरहेकाले मन्त्रालयले यस औषधिको प्राप्ति र सहज उपलब्ध गराउन पहल मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।
मन्त्रालयले यी औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधि र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरुमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा.राजु पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्