दैलेखमा छोरी बलात्कार गर्ने बावुलाई ३५ वर्ष जेल

काठमाडौं, फागुन १० ।  आफ्नै छोरी बलात्कार गरेको घटनामा संलग्न दैलेखका एकजनालाई ३५ वर्ष जेल सजाय सुनाइएको छ । दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा ३६ वर्षीय बावुलाई ३५ वर्ष कैद, पीडित बालिकालाई एक लाख रुपैयाँ क्षतिपूर्ति र दुई हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा योगदान गर्नुपर्ने सजायको फैसला सुनाएको छ ।

सोमबार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासले छोरीलाई हाडनाता करणी कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १० वर्ष कैद समेत गरी ३५ वर्ष कैदसंगै कसूरदारले क्षतिपूर्ति र नेपाल सरकारको पीडित राहत कोषमा उक्त रकम भराउनुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।

२०७८ साउन २८ गते १७ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै २०७८ मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले सोहि दिन ती पुरुषलाई घरबाटै पक्राउ गरेको थियो । पीडित पक्षको उजुरी, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७८ पुस ४ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणीसम्बन्धी अभियोग दर्ता गराएको थियो ।

अभियोग सम्वन्धमा पुस ६ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि थुनामा राख्न दैलेख कारागारमा पठाइएको थियो । पीडित बालिकाले आफू माथि तीन वर्षदेखि पटक–पटक बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको व्यहोरा अदालतले लिइएको वकपत्रमा दोहोर्‍याएर बयान दिएकी थिइन् ।

पछिल्लो पटक २०७८ साउन २८ गते बलात्कार भएको र भदौ १ गते पुनः बलात्कारको प्रयास गरेपछि ती बालिका प्रतिवाद गरेर घरबाटै भागेकी थिइन् । घरबाट भागेर उनि गाउँ नजिकै बजारको एक होटलमा झण्डै एक महिना भाँडा माझ्ने गरिन् । त्यसपपछि उनी सुर्खेतस्थित आफन्तको शरणमा पुगेकी थिइन् ।

आफन्तको शरणमा रहेकी ती बालिकाले घर छोडेको तीन महिनापछि एक गैरसरकारी संस्थाले आयोजना गरेको युवा सचेतना तालिममा सहभागी भएको बेला तालिम सहजकर्ता अधिवक्ता गीता कोइराला र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टिका बिष्टलाई २०७८ मंसिर ५ गते आफू बावुबाट पटकपटक बलात्कृत हुँदै आएको जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

पीडित बालिकाले कानुनी उपचारमा जाने निणर्य गरेपछि इन्सेकले न्यायिक प्रक्रियाका लागि पाँच हजार रुपैयाँ सहयोग समेत गरेको थियो । इन्सेकको समन्वयमा दैलेखस्थित सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको महिला तथा बालबालिका सेवा केन्द्रले कानूनी सहयोग र कानूनी प्रक्रिया अवधिका लागि पीडित बालिकालाई करिब एक महिना आपत्तकालिन आवास गृहमा संरक्षण दिएको थियो ।

कानूनी प्रक्रिया सुरु भएपछि कमाउने बावुलाई थुनाएको भन्दै पीडित बालिकाको घरका बाजेबज्यै र आफन्तले असहयोग गर्न थालेपछि ती बालिका मावली घरका बाजेबज्यैको संरक्षणमा कक्षा १२ को नियमिततर्फको पढाइ निरन्तरता दिएकी छन् । पीडित बालिका मावलीमा बस्दै आएकी छन्। ३५ वर्षीया आमाको साथमा क्रमशः १४ र १० वर्षीया बहिनी र ५ वर्षीय भाइ छन् ।

प्रतिक्रिया दिनुहोस्