एमसिसीले सत्ता गठबन्धनमा तरंगः गठबन्धन जोगाउन दौडधुप

काठमाडौं, माघ २० ।  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरूबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्काेलाई फकाउन थालेका छन् ।

कांग्रेसका नेताहरू बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतालाई मनाउन दौडधुपमा व्यस्त रहे । यसै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दौडधुप गरे ।

कांग्रेसका नेताहरूले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसँग बेग्लाबेग्लै भेट गरे । दाहाल र नेपालले बिहान-बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे । प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसिसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरूबीच खटपट उत्पन्न भएको छ । खटपट बढ्दै गए स्थानीय तहको निर्वाचअघि नै गठबन्धन टुट्न सक्छ । यस्तो अवस्था आउन नदिन बुधबार दिनभर नेताहरू आपसी छलफल र परामर्शमा व्यस्त रहेका हुन् ।

तत्काल एमसिसी संसद् बैठकमा पेस गर्न नहुने बताउँदै आएका माओवादी केन्द्र र नेकपा एसले प्रधानमन्त्रीले संसद्मा लगे के गर्ने भन्नेबारे छलफल गरेका छन् । माओवादी अध्यक्ष दाहाललाई भेट्न बुधबार बिहान कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलगायतका नेता खुमलटार पुगेका थिए । उनीहरूले दाहाललाई गठबन्धन कायम रहने आश्वासन दिएका थिए । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । देउवाले पार्टीका नेता र मन्त्रीमार्फत दाहाल र नेपाललाई गठबन्धन कायम राख्ने सन्देश पठाएका थिए ।

खुमलटार र कोटेश्वरमा भएको वार्तापछि बिहान ११ बजे बालुवाटारमा देउवा, दाहाल र नेपालबीच करिब एक घण्टा कुराकानी भएको थियो । उनीहरूबीच साँझ पनि एमसिसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने, स्थानीय तहको निर्वाचन कहिले गर्ने, निर्वाचन मिति घोषणापछि सरकारी नियुक्तिमा अवरोध आउनेलगायत विषयमा छलफल भएको थियो ।

छलफलमा देउवाले एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने बुँदा भए जानकारी गराउन आग्रह गरेका थिए । ‘बिहानको छलफलमा एमसिसीका कुनकुन बुँदामा सुधार र संशोधन आवश्यक छ भनेर प्रधानमन्त्रीले सोध्नुभयो, छलफल निकै सकारात्मक र फलदायी ढंगले अघि बढ्यो’, दाहाललाई उद्धृत गर्दे माओवादीका एक नेताले भने । दाहाल र नेपालले यथास्थितिमै एमसिसी पास गर्न नसकिने अडान लिएपछि प्रधानमन्त्री देउवाले उनीहरूसँग संशोधन गर्नुपर्ने बुँदा मागेका थिए ।

प्रधानमन्त्री देउवाले कुनै पनि तहमा पुगेर भए पनि एमसिसी संसद् बैठकमा पेस गर्ने तयारी गरेछि दाहालको निर्देशनमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक स्थगित गरेको चर्चा राजनीतिक वृतमा छ । सभामुख सापकोटा १६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक २६ मा बस्ने भन्दै स्थगित गरेर गृहजिल्ला पुगेपछि दाहालले सरकारलाई असहयोग गरेको गुनासो कांग्रेस नेताहरूले गरेका थिए ।

त्यसैगरी दाहालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख सुङ थाओसँग गरेको कुराकानीले पनि गठबन्धनभित्र खटपट उत्पन्न भएको थियो । सुङले एमसिसी संसद् बैठकमा पेस नगर्न दाहाललाई दबाबमा दिएको समाचार बाहिर आएपछि कांग्रेसले त्यसबारे स्पष्ट हुन भनेको थियो । ‘बुधबार बिहान ती सबै भ्रमबारे छलफल भएको छ’, दाहाल निकट एक नेताले भने ।

ती नेताका अनुसार देउवाले एमसिसीको प्रस्ताव संसद् बैठकमा पेस गर्ने बताएपछि गठबन्धनमा चिसोपना बढेको र त्यसको निरुपणका लागि बिहान कांग्रेस नेताहरू खुमलटार र कोटेश्वर पुगेका हुन् । प्रधानमन्त्री देउवासँग बालुवाटारमा कुराकानी गरेर फर्केपछि नेकपा एसका अध्यक्ष नेपालले एमालेविरुद्ध एक भएर अगाडि बढ्नुपर्ने भएकाले गठबन्धन संसदीय निर्वाचनसम्म कायम रहने बताएका छन् । नेकपा एसनिकट विद्यार्थी संगठनले आयोजना गरेको रक्तदान कार्यक्रमलाई काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमालेले जता पनि विध्वंश मच्याउने काम गरेको र गठबन्धन टुट्दैछ भन्ने भ्रम फैलाएको आरोप लगाए ।

उनले एमालेले संसद् बैठक चल्नै नदिएर विध्वंशकारी भूमिका निर्वाह गरेको बताए । ‘मुलुक अब गठबन्धनको राजनीतिमा अगाडि बढिसकेको छ, कसैले भ्रम फैलाउँदैमा गठबन्धन भत्किँदैन,’ नेपालले भने । उनले जेठमा स्थानीय तह निर्वाचन हुने बताए । ‘कसैले गठबन्धन तोड्नुस्, साथ दिन्छौँ भनेर कांग्रेस सभापतिलाई भनेका थिए तर यो गठबन्धन टुट्नेवाला छैन, कसैले टुटाउन खोजे पनि यो टुट्ने, फुट्नेवाला छैन,’ नेपालले भने ।

माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोखरेललगायतका नेता कार्यकर्ता एमसिसी पास गर्ने पक्षमा छैनन् । उनीहरूले एमसिसी पास गर्न सरकारलाई सहयोग र समर्थन नगर्न दाहाललाई दबाब दिइरहेका छन् । यसैकारण दाहालले पार्टीभित्र अन्तर्विरोध बढेको भन्दै यथास्थितिमा एमसिसी संसद्मा पेस गर्न नसकिने अडान लिएका छन् । नेकपा एसमा पनि एमसिसीबारे अन्तर्विरोध कायमै छ । दाहाल र नेपालले संशोधनपछि मात्रै एमसिसी संसद् बैठकमामा पेस गर्नुपर्ने अडान बुधबार साँझको बैठकमा पनि दोहोर्‍याएको स्रोतले बतायो । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्