पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाए देउवाले

काठमाडौं, जेठ १४। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।

सभापति देउवाको निवास बूढानीलकण्ठमा सोमबार दिउँसो १ बजे बैठक बस्नेछ।

सहमहामन्त्री जीवन परियारले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने जानकारी दिए।

सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सदन र सडकबाट माग गर्दै आएको छ।

सोमबार बिहान पनि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको थियो।

कांग्रेसले आन्तरिक रूपमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको हो।

संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार देखिए पनि रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्नेमा सत्ता र प्रतिपक्षीबीच कुरा मिल्न सकेको छैन।

सहमहामन्त्री परियारले लामिछानेको नाम राखेर जानुपर्ने अडानमा पार्टी रहेको बताए। तर सत्ता पक्षका नेताहरूले भने व्यक्तिलाई केन्द्रित गरेर संसदीय छानबिन समिति गठन गर्न नहुने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्