१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्देश प्रधानमन्त्री ओलीले यस्तो दिए,

काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रूपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीर रहेको बताएका छन्।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरीति र त्यसबाट महिलाहरुले भोग्नुपरेका समस्या अन्त्यका लागि सरकारले प्रयास जारी राख्ने बताएका छन्।

‘यस्ता कुराहरुको अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानुनी एवं व्यवहारिक रूपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु’, प्रधानमन्त्री ओलीले भनेका छन्।

सरकारका विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री ओलीकोसन्देशमा भनिएको छ-‘यस्तो अवस्थाको सुधारका लागि सबै सरोकारवाला निकायहरुले अझै प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ।’ नीति निर्माण तहमा महिलाको संख्या बढाउन संवैधानिक रूपमा विशेष प्रवधान राखिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक, सभामुख, उपसभामुखमध्ये एक, राष्ट्रियसभाका अध्यक्ष वा उपाध्यक्षमध्ये एक, प्रदेशको सभामुख, उपसभामुखमध्ये एक र स्थानीय तहकाप्रमुख वा उपप्रमुखमध्ये एक महिला राख्ने प्रावधान महिला शसक्तिकरणका लागि महत्त्वपूर्ण फड्को भएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘राष्ट्रपति जस्तो महत्वपूर्ण पदमा महिला रहेका विश्वका सिमित मुलुकहरुको सूचीमा नेपालले आफूलाई उभ्याउन सफल भएको छ।’

नेपालको संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

महिला हक अधिकार प्राप्तिका लागि संविधान, विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा नेपाल पक्ष राष्ट्र भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले ति सन्धी सम्झौताको पालनमा सरकार गम्भीर रहेको बताए।

प्रतिक्रिया दिनुहोस्