नेपालमा पूर्ण खोप लगाउनेको संख्या एक करोड नाघ्यो, गम्भीर बिरामीको संख्या घट्दै

काठमाडौं, पुस १३ । नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउनेको संख्या एक करोड नाघेको छ । सोमबारसम्म लक्षित जनसंख्याको ५१ प्रतिशतले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत वर्षको १४ माघबाट नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक करोड एक लाख ६६ हजार पाँच सय चारजनाले खोपको पूर्ण मात्रा अर्थात् दोस्रो डोज लगाएका हुन् । नेपालमा खोपको लक्षित जनसंख्या एक करोड ९९ लाख २२ हजार एक सय ६४ छ । पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३४ लाख ७३ हजार छ । हालसम्म दुई करोड ३७ लाख ४० हजारभन्दा बढीले पहिलो र दोस्रो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले खोप कार्यक्रम देशभर नियमित सञ्चालनमा रहको र खोप पर्याप्त मात्रामा उपलब्ध भएकाले यो वर्षभित्र लक्षित जनसंख्यामा खोपको पूर्ण मात्रा लगाइसक्ने लक्ष्य रहेको जानकारी दिए ।

खोप लगाउनेको संख्या बढ्दै गएकाले नेपालमा कोभिड संक्रमणका कारण अस्पताल भर्नादर न्यून छ । गम्भीर बिरामीको संख्यासमेत न्यून रहेको चिकित्सकहरू बताउँछन् । शुक्रराज ट्रपिकल अस्पताल टेकुको आइसियूमा हाल सातजना कोभिड संक्रमित उपचाररत छन् । जसमध्ये पाँचजना खोप लगाएका र दुईजना नलगाएका बिरामी रहेको अस्पतालले जनाएको छ । खोप लगाएकाको तुलनामा नलगाएका संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको पाइएको छ ।

निजामती अस्पतालमा पनि भर्ना भएका अधिकांश संक्रमित खोप लगाएका, तर सामान्य लक्षणसहितका रहेको अस्पतालका कोभिड संयोजक डा।विदेश विष्टले जानकारी दिए । उनका अनुसार हाल आइसियूमा पाँचजना बिरामी उपचाररत छन्, जसमध्ये सबैजना खोप लगाएका छन् । ‘बिरामीको संख्या न्यून छ । पिसिआर परीक्षणसमेत विदेश जाने र शल्यक्रिया वा अन्य उपचारअघि गरिने परीक्षणमा मात्र सीमित छ,’ विष्टले भने ।

यता भक्तपुर अस्पतालको आइसियूमा दुई र एचडियूमा तीनजना संक्रमित उपचाररत छन् । कोभिडका लागि मात्रै नभई अन्य सेवाका लागि अस्पताल पुग्ने बिरामी सबै खोप लगाएका नै रहेको डा। सुनिल ढुंगेलले बताए ।

यसैबीच ओमिक्रोन भेरियन्ट फैलिँदै गएपछि विश्वभर कोरोना संक्रमणदर पुनः बढ्न थालेको छ । पछिल्लो दुई सातायता युरोपका विभिन्न देशमा दैनिक संक्रमणदर तीव्र बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ओमिक्रोनसँगै डेल्टा भेरियन्टका संक्रमित पनि प्रतिदिन दोब्बरको संख्यामा बढेका छन् । युरोपमा प्रत्येक एक सयजना संक्रमितमध्ये ५६ जना नयाँ संक्रमित देखिन थालेका छन् । योसँगै पुनः युरोप कोरोना महामारीको केन्द्रबिन्दु बन्ने जोखिम बढेको छ ।

युरोपमा संक्रमण बढ्नुको कारण भ्याक्सिनको दायरा बढाउन नसकेका देशहरूलाई मानिन थालिएको छ । स्पेन र पोर्चुगलले कुल जनसंख्याको ८० प्रतिशतमा खोप प्रयोगमा ल्याए पनि युरोपभरि ६४ प्रतिशतले मात्रै खोप लगाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अझै पनि केही देशले लक्षित जनसंख्याको ५० प्रतिशतभन्दा कममा खोपको पहुँच पु¥याएको पाइएको छ । खोपको न्यून प्रयोग भएका जनसंख्यालाई लक्षित गरी युरोपमा प्रतिबन्धमा कडाइ गरिन थालिएको छ । जुलाईदेखि फ्रान्सले थिएटर वा संग्रहालयहरूजस्ता सार्वजनिक स्थानमा प्रवेश गर्न खोप प्रमाणपत्र देखाउनुपर्ने, रेस्टुरेन्ट र लामो दूरीको सवारी र अन्य सार्वजनिक स्थानमा पनि प्रतिबन्धमा कडाइ गरेको छ । नेदरल्यान्ड्सले आइतबारदेखि चौथो लकडाउनको घोषणा गरेको छ ।

फ्रान्समा कोभिड संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ । शनिबारको तथ्यांकअनुसार एकैदिन एक लाख चार हजार ६११ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमण नियन्त्रणका लागि वयस्कहरूमा बुस्टर डोजसमेत प्रयोगमा ल्याइएको छ । सार्वजनिकस्थल र सभा समारोहमा प्रवेश गर्नसमेत बुस्टर डोज लगाएको हुनुपर्ने नियम बनाइएको छ ।

इटालीले बिहीबारदेखि नै प्रतिबन्ध थप कडा गरेको छ । नयाँ वर्षको उत्सवमा प्रतिबन्ध लगाइएको छ । सार्वजनिक स्थानमा भिडभाड नगर्न र मास्क अनिवार्य लगाउनुपर्ने बताइएको छ । इटालीमा हाल दैनिक संक्रमण ४४ हजार र मृत्युदर डेढ सयको हाराहारीमा छ ।

स्पेनले फेरि अनिवार्य मास्क लगाउनुपर्ने कानुन प्रधानमन्त्रीको कार्यालयबाटै पारित गरेको छ । ६०–६९ उमेर समूहका ८० प्रतिशत लक्षित जनसंख्यालाई अर्को साताको अन्त्यसम्ममा बुस्टर डोज लगाउने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसबाहेक व्यावसायिक प्रयोगका लागिसमेत कोभिड परीक्षण अस्थायी रूपमा फार्मेसीमा बिक्रीमा राखिएको छ । बेलायत, बेल्जियम, ग्रिस, जर्मनी, पोर्चुगल, डेनमार्क, स्विडेन, स्विजरल्यान्ड र आयरल्यान्डमा पनि कोभिड संक्रमण दिनानुदिन उकालो लाग्दै गएको छ । संक्रमण पुनः बढ्न थालेपछि यी देशले नयाँ वर्षको उत्सवमा पूर्ण रूपमा बन्देज लगाएका छन् ।

फाइजर खोप अभियान स्थगित

गत ९ पुसमा युएसएआइडीले नेपाललाई ६ लाख ६४ हजार पाँच सय ६० डोज फाइजर खोप दिएको थियो । तर, फाइजर खोपलाई घोल्ने डाइलियन्स ९घोलक० पदार्थ नआउँदा मंगलबारदेखि सुरु हुने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । सरकारले काठमाडौं उपत्यकासहित काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रूपन्देही, बाँके, दाङ र कैलालीका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको छ ।

अन्य खोपभन्दा फाइजरको प्रयोग फरक छ । अन्य खोपका लागि शून्य दशमलब ५ एमएलको सिरिन्ज आवश्यक पर्छ, घोलक आवश्यक पर्दैन । तर, फाइजर खोप दूधजस्तो हुने भएकाले यसलाई घोलेर पातलो बनाउन डाइलियन्स ९घोलक० पदार्थ पनि आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा।रुद्रप्रसाद मरासिनीले युएसएआइडी फाइजर खोप दिए पनि घोलक नपठाउँदा अभियान केही पछाडि सार्नुपरेको बताए । उनका अनुसार घोलक पदार्थ २९ डिसेम्बरभित्र नेपाल आइपुग्नेछ ।

एउटा घोलक १ दशमलब ८ एमएलको हुने र ६ डोजलाई पुग्ने चिकित्सकहरूको भनाइ छ । घोलक पदार्थ र शून्य दशमलब ३ एमएलका सिरिन्ज आएलगत्तै खोप अभियान सुरु गरिने भएको छ । फाइजर खोपका लागि आवश्यक पर्ने शून्य दशमलब ३ एमएलका सिरिन्ज केही संख्यामा भए पनि अभियानकै रूपमा सुरु गर्दा अभाव हुने देखिएकाले स्थगित गरिएको हो । अन्य खोप शून्य दशमलब ५ एमएल लगाइन्छ भने फाइजर खोप शून्य दशमलब ३ एमएल लगाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्