सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ
काठमाडौं,२५ पुस । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट पक्राउ गरेको हो ।
अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका थिए ।
प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
अनिलले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो ।
ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।
प्रतिक्रिया दिनुहोस्