कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव, चुनिएलान् त देउवा ?

काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव हुँदैछ ।

बिहान १० बजेदेखि १ बजेसम्म हुने चुनावका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । सभापति देउवाले सर्वसम्मतरुपमा संसदीय दलको नेतामा दोहोरिने इच्छा देखाए पनि रामचन्द्र पौडेल समूहबाट पूर्वमहामन्त्री सिंहले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् । मतदान लगत्तै मतगणना शुरु हुने निर्वाचन समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिए।

कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको चुनावपछि संसदीय दल कार्यसमितिको चुनाव हुने सचिव रिजालले बताए।

संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्