काँग्रेस संसदीय दलको चुनावको लागि नामावली प्रकाशन, देउवा र सिंहमा कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि आज मतदाता नामावली प्रकाशन भएको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ सांसदको नाम मतदाता नामावलीमा छ ।
आज अपराह्न ६ बजेदेखि साँझ ७ः३० बजेसम्म संसदीय दलको नेताको उम्मेदवारका लागि दरखास्त आह्वान गरिएको छ । नेताका लागि सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी पर्ने देखिएको छ । सोमबार बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिए ।

सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुनेछ ।
मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने रिजालले जानकारी दिए ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए ।

निर्वाचनमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी रहको छ । उम्मेदवारीको दरखास्तसाथ दाखिल सहित शुल्क ४१ हजार तोकिएको छ ।

राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको छ ।

उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्