दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया थाल्यो कांग्रेसले,देउवा र सिंहबीच प्रतिष्पर्धा

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्दै छ । संघीय संसदका सदस्यहरूलाई शपथ ग्रहणको कार्यक्रमपछि कांग्रेसले दलको नेता चयनका लालि निर्वाचन प्रक्रिया सुरु गर्ने भएको हो ।

काँग्रेस संसदीय दल निर्वाचन समितिका अनुसार आज दिउँसो साढे ४ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै साँझ ६ देखि साढे ७ बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र भोलि साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने समिति सदस्य सचिव केशव रिजालले जानकारी दिए ।

भोलि बिहान १० देखि दिउँसो १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने समिति सदस्य सचिव रिजालले बताए । पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

यसैबीच, अहिले काँग्रेस नेताहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने बारेमा छलफल गर्न नेताहरु अनौपचारिक छलफलमा जुटेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्