वर्तमान संविधान अग्रगामी र प्रगतिशील छ भन्नेमा दृढ छु : कमल थापा
काठमाडौँ , ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपालको वर्तमान संविधान प्रगतिशील भए पनि ‘उत्कृष्ट नभएको बताएका छन् ।
संविधान दिवसका अवसरमा आइतबार संविधानबारे आफ्नो धारणा सार्वजनिक गर्दै संविधान आफैमा गतिशील र परिवर्तनीय दस्तावेज भएको उनले बताए ।
संविधानका समावेशी र समानुपातिक व्यवस्था तुलनात्मक रूपले विश्वका अन्य कतिपय संविधानहरू भन्दा अग्रगामी र प्रगतिशील भएको उनको भनाइ छ । वर्तमान संविधानले जनताको मतबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्ने अधिकार दिएको थापाले बताए ।
जनताको अभिमतका आधारमा परिवर्तन वा संशोधन गर्न सकिने संवैधानिक व्यवस्था कायम भएकाले राप्रपा संविधानमा हस्ताक्षर गरेको थापाको प्रस्ट पारे । तर राजनीतिक दलले निहित स्वार्थ परिपूर्तिका निमित्त संविधान र लोकतन्त्रलाई माध्यम बनाए वर्तमान संविधान पनि तासको घरझैँ गर्ल्यामगुर्लुम ढल्ने उनको भनाइ छ ।
हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको कमल थापाले गणतन्त्र र धर्मनिरपेक्षता कायम गरेको नेपालको वर्तमान संविधानलाई ‘उत्कृष्ट संविधान भन्यो भन्ने आरोप मलाई अक्सर लाग्ने गरेको छ।
वास्तविकता त्यो होइन। राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा संविधानबारे बोल्दा कहिल्यै पनि मैले ‘उत्कृष्ट शब्द प्रयोग गरेको छैन। विश्वको कुनैपनि संविधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हॅुदैन भन्ने मेरो स्पष्ट मान्यता छ। संविधान आफैमा गतिशील र परिवर्तनीय दस्तावेज हो ।
हिन्दुराष्ट्र र राजसंस्था नसमेटिएको र अनावश्यक संघीयता कायम गरिएको कारणबाट मेरो नेतृत्वमा रहेको पार्टी राप्रपाले संविधानबारे मतदान हुँदा विपक्षमा मत हालेको र संविधानको परिधिभित्रबाटै जनताको अभिमत लिएर आफ्नो एजेण्डा स्थापित गर्न प्रतिबद्ध रहेको कुरा मैले देश विदेशमा भन्दै आएको तथ्य स्पष्ट छ। यो यथार्थ अभिलेखबाट प्रमाणित छ।
वस्तुतः मैले वर्तमान संविधानमा समावेश भएका समावेशी र समानुपातिक व्यवस्था तुलनात्मक रूपले विश्वका अन्य कतिपय संविधानहरू भन्दा अग्रगामी र प्रगतिशील छ भनेको हुँ । यो भनाइमा म अहिले पनि दृढ छु। किनभने त्यो सत्य हो। साथै, वर्तमान संविधानले जनताको मतबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्ने अधिकार दिएको छ ।
यो अधिकार हामीले संविधानसभामा लडेर लिएको हो । यहि अधिकारको धरातलमा उभिएर एकदिन हिन्दुराष्ट्र् र राजसंस्थासहितको लोकतन्त्र स्थापित गर्छौ र गर्न सक्छौ भन्ने आत्मविश्वासका साथ नेपालको राजनीतिमा राप्रपा क्रियाशील छ। जसरी जनताको बहुदलीय जनवादको मान्यता अनुरूप तत्कालीन एमालेले राजसंस्थासँग सहकार्य गरेको थियो तदनुरूप राप्रपाले सम्वर्द्धनवादको सिद्धान्त अनुरूप संविधानसँग सहकार्य गरेको हो।
संविधानसभामा नेपालको संविधान ०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको विपक्षमा मतदान गर्ने एक मात्र दल राप्रपा नेपाल थियो । आफ्ना आधारभूत मान्यता हिन्दू राष्ट्र र राजसंस्थाजस्ता विषय संविधानमा नसमेटिएका कारण राप्रपा नेपाल विपक्षमा खडा उभिएको थियो ।
आफ्नो असहमतिका बाबजुद ९० प्रतिशतभन्दा बढीको बहुमतबाट संविधान पारित भएपछि प्रजातान्त्रिक मूल्य–मान्यताअनुरूप आफ्नो फरक मत कायम राख्दै राप्रपा नेपालले संविधानलाई आलोचनात्मक समर्थन गर्ने निर्णय गर्यो ।
संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने रणनीति अख्तियार गर्यो । राप्रपाको यस्तो नीतिको कतिपयले कठोर आलोचनासमेत गरेका छन् । तर, राप्रपाको यो नीति देश, जनता र पार्टीको बृहत्तर हितका पक्षमा छ ।
खेलको नियम मानेर खेलमा सहभागी हुने अनि परिणाम आफूअनुकूल नहुँदा विद्रोह गर्ने कार्य सर्वथा उपयुक्त होइन । यो हाम्रो कमजोरी होइन । जनताको सर्वोच्चता र आफ्नो सिद्धान्तप्रति आत्मविश्वासको अभिव्यक्ति हो भन्दै उनले आफ्नो धारणा व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्