म माथि षड्यन्त्र भयो, मैले पनि न्याय पाउनु पर्ला नि तः गृहमन्त्री लेखक

काठमाडौं, १४ जेष्ठ। गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै न्याय माग गरेका हुन् ।

‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि ।’

गृहमन्त्री लेखकले कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको उदाहरण नभएको बताएका छन् ।

जारी पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले पछिल्ला तीन आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका उजुरीहरूको तथ्यांक प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन् । सम्पूर्ण उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीमाथि हुन्छन् । ति माथि छानबिन गर्ने र अख्तियारले मुद्दा दर्ता गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘कर्मचारीमाथि छानबिन हुँदैमा अहिलेसम्म कति मन्त्रीले राजीनामा दिए होलान्, तपाईंहरू आफैं विवेचना गर्नुहोला ।’

गृहमन्त्री लेखकले तीन आर्थिक वर्षको अवधिमा गृह मन्त्रालयको नेतृत्व विभिन्न तीनजना माननीयले गरेको भन्दै त्यसअवधिमा परेका उजुरीमाथि अख्तियारले छानबिन गर्दा कुनै पनि गृहमन्त्रीले राजीनामा नदिएको बताए ।

गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराई०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेको काम गरेको जानकारी गराएका छन् ।

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेको मान्छे अध्यागमन विभागको प्रमुख भएर काम गर्न गएको बताए ।

साथै, उनले आफूले पछिल्लोपटक गृह मन्त्रालयमा सरुवा गरेर नल्याएको पनि बताए ।

‘मैले गृहमन्त्रालयमा अन्तबाट सरुवा गरेर ल्याएको होइन । मैले दिएको जिम्मेवारीभन्दा अरुले धेरै जिम्मेवारी दिएका व्यक्ति हुन्,’ उनले भने ।

१० वर्षअघि त्रिपालकाण्डमा पनि जोडिएका थिए सहसचिव भट्टराई
उनले भट्टराईलाई आफूले अचानक सरुवा गरेर भट्टराईलाई गृह मन्त्रालयमा नल्याएको पनि बताए ।

‘निरन्तर ०७७ सालेदेखि गृहमन्त्रालयमा काम गरिरहनुभएको छ । अत्यन्तै महत्वपूर्ण विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिरहनुभएको मान्छे कार्यालयको प्रमुख भएर जानुभएको हो,’ गृहमन्त्री लेखकले भने, ‘यो विषयलाई यसरी प्रचार गरिएको छ कि, अचानक त्यो ठाउँमा सरुवा गरेँ भन्ने होइन । मैले कसैका प्रति आग्रह पूर्वाग्रह राखेर निवेदन गरेको छैन । यो विषय यथार्थ हो । यथार्थ विषयलाई यहाँ ल्याएको हुँ ।’

उनले राजनीतिक वा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि पनि निरन्तर रुपमा छानबिन हुने गरेको भन्दै यसलाई पनि त्यसैगरी लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्